२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

ओलीको टिप्पणी : निर्वाचन परिणाम ‘अस्वाभाविक र अपत्यारिलो’, एकताबद्ध हुन एमाले सांसदलाई निर्देशन

himalayanlife
२०८२ चैत १२ गते १६:३२
Shares
ओलीको टिप्पणी : निर्वाचन परिणाम ‘अस्वाभाविक र अपत्यारिलो’, एकताबद्ध हुन एमाले सांसदलाई निर्देशन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणामप्रति असन्तुष्टि जनाउँदै त्यसलाई ‘अस्वाभाविक, अपत्यारिलो र जादुमय’ भएको टिप्पणी गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन परिणामबारे तत्काल धेरै टिप्पणी गर्ने बेला नभए पनि नतिजा अनपेक्षित रहेको बताए । उनले निर्वाचनमा एमालेविरुद्ध ‘सम्पूर्ण प्रहार केन्द्रित’ गरिएको दाबी गरे ।

ओलीले केही दलतर्फ संकेत गर्दै उनीहरूलाई विभिन्न पक्षबाट सहयोग प्राप्त भएको आरोपसमेत लगाए । साथै, निर्वाचनका क्रममा असभ्य भाषा, गालीगलौज र कुप्रचार भएको उल्लेख गर्दै एमालेले त्यसको प्रभावकारी प्रतिवाद गर्न नसकेको स्वीकार गरे । उनका अनुसार सामाजिक सञ्जालमा पार्टीको उपस्थितिसमेत कमजोर रह्यो ।

‘हाम्रा विरोधीहरूले समन्वित रूपमा आक्रमण गरे, तर हामीले डटेर सामना गर्न सकेनौं,’ ओलीले भने, ‘कुप्रचारका बीचमा हाम्रो सभ्य शैलीले प्रभावकारी जवाफ दिन सकेन ।’

यसैक्रममा उनले महाभारतको प्रसंग उल्लेख गर्दै सानो शक्ति भए पनि सत्यको पक्ष अन्ततः विजयी हुने विश्वास व्यक्त गरे । ‘पाण्डवको सेना सानो थियो, तर सत्यको जित भयो। हामी पनि राष्ट्रिय गौरवको झण्डा उचाल्ने अभियानमा छौं,’ उनले भने ।

अध्यक्ष ओलीले सांसदहरूलाई संसदमा व्यक्तिगत धारणा होइन, पार्टीको आधिकारिक विचार मात्रै प्रस्तुत गर्न निर्देशन दिए । ‘संसद् व्यक्तिगत अभिव्यक्ति दिने थलो होइन, पार्टीको दृष्टिकोण राख्ने ठाउँ हो,’ उनले भने, ‘मलाई यस्तो लाग्यो भनेर बोल्ने छुट हुँदैन ।’

उनले पार्टीको संसदीय भूमिका प्रभावकारी बनाउँदै जनतालाई सचेत बनाउने काममा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘हामी भ्रम फैलाउने होइन, जनतालाई स्पष्ट मार्गदर्शन गर्ने पक्षमा उभिनुपर्छ,’ ओलीले भने ।

पार्टीभित्र एकता र अनुशासनलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिँदै ओलीले प्रतिकूल परिस्थितिमा आन्तरिक विवाद झिक्नु उपयुक्त नहुने बताए । ‘अहिलेको आवश्यकता एकता हो,’ उनले भने, ‘संसद् पार्टीका नीति र निर्णयअनुसार अनुशासित रूपमा चल्नुपर्छ । हामी व्यक्तिगत ढंगले प्रस्तुत हुन होइन, सामूहिक जिम्मेवारी पूरा गर्न त्यहाँ पुगेका हौं ।’

ताजा खबर

सम्बन्धित खबर