
काठमाडौं : नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको टिप्पणी गरेको छ ।
बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता देवराज चालिसेले यस्तो टिप्पणी गरेका हुन् । उनले जाँचबुझ आयोगको प्रतिवेदनले घटनाक्रमको पूर्ण चित्र प्रस्तुत गर्न नसकेको बताए ।
प्रतिवेदनले २३ भदौको जेनजी आन्दोलनबारे केही प्रकाश पार्ने प्रयास गरे पनि २४ गतेका घटनाहरूलाई स्पष्ट रूपमा समेट्न नसकेको बताए । चालिसेले प्रतिवेदनको विस्तृत अध्ययन गर्न कानुनविद्, प्रशासनका जानकार, जेनजी आन्दोलनका अभियन्ता तथा विज्ञहरू सम्मिलित समिति गठन गरिएको जानकारी समेत दिए ।
उक्त समितिले अध्ययन गरिसकेपछि जेनजी आन्दोलन जाँचबुझ आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदनबारे पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ ।