२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

एभिन्यूज खबर टेलिभिजनको आपत्ति

himalayanlife
२०८२ चैत १२ गते २२:०४
Shares
एभिन्यूज खबर टेलिभिजनको आपत्ति

काठमाडौं : सप्तरी निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार शम्भु प्रसाद देवले पेश गरेको निर्वाचन खर्च विवरणलाई लिएर एभिन्यूज खबर टेलिभिजनले आपत्ति जनाएको छ ।

टेलिभिजनले जारी गरेको प्रेस विज्ञप्तिमा देवले आफ्नो खर्च विवरणमा अन्तर्वार्ता प्रसारणका लागि ५० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको विषय तथ्यहीन भएको दाबी गरिएको छ । संस्थाका अनुसार उक्त रकम आफूहरूले नलिएको र प्रसारित अन्तर्वार्ता कुनै पनि प्रकारको निर्वाचन प्रचारसँग सम्बन्धित नरहेको स्पष्ट पारिएको छ ।

विज्ञप्तिमा उम्मेदवार देवले समेत सामाजिक सञ्जालमार्फत कुनै रकम भुक्तानी नगरिएको स्वीकार गरिसकेको उल्लेख गर्दै सो विवरण सच्याउन सम्बन्धित निकायसँग आग्रह गरिएको छ । गलत विवरणले सञ्चार संस्थाको विश्वसनीयतामा असर पर्ने भन्दै टेलिभिजनले गम्भीर ध्यानाकर्षण गराएको छ ।

एभिन्यूज खबर टेलिभिजनले देवसँग सम्बन्धित कुनै पनि प्रायोजित वा भुक्तानी गरिएको सामग्री उत्पादन, स्वीकृति वा प्रसारण नगरेको स्पष्ट पारेको छ । भ्रामक सूचना सार्वजनिक गरिनु पत्रकारिताको मर्मविपरीत भएको उल्लेख गर्दै यस्ता गतिविधिप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।

साथै, विज्ञप्तिमा एड्भर्टोरियल, प्रायोजित सामग्री तथा विज्ञापन सामग्रीलाई स्पष्ट रूपमा छुट्याएर प्रस्तुत गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको उल्लेख गरिएको छ । दर्शकलाई यस्ता सामग्रीबारे स्पष्ट जानकारी गराउने विषयमा आफूहरू सधैं सजग रहेको पनि जनाइएको छ ।

टेलिभिजनले सम्पादकीय सामग्री र विज्ञापनबीच स्पष्ट विभाजन कायम राख्दै पत्रकारिताको नैतिक मापदण्ड पालना गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ ।

सम्बन्धित खबर