२०८२ चैत १३ गते शुक्रवार / Mar 27 , 2026 , Friday
२०८२ चैत १३ गते शुक्रवार
Ads

विध्वंसमा दमकल जले, विपद् प्राधिकरण बेखबर

himalayanlife
सपना बोहरा
२०८२ चैत १३ गते ०६:२०
Shares
विध्वंसमा दमकल जले, विपद् प्राधिकरण बेखबर

काठमाडौं : सुनसरीको पूर्वाञ्चल क्याफेमा बुधबार बिहान भीषण आगलागी भयो । क्याफेमा भएको आगलागीको जानकारी इटहरी उपमहानगरपालिकासम्म पुग्यो । प्रहरी कार्यालयलाई पनि जानकारी भयो तर आगो निभाउने दमकल थिएन । मूकदर्शक हुनुबाहेक अन्य विकल्प प्रहरीलाई भएन । अन्ततः क्याफे जलेर खरानीमा परिणत भयो । उपमहानगरपालिकासँग दमकल हुँदै नभएको भने होइन । गत भदौ २३ र २४ गते भएको जेनजी विध्वंसका क्रममा उपमहानगरका दुवै दमकल जलाइएका थिए ।

आफ्नै उपमहानगरपालिकामा दमकल नभएपछि धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका, सुन्दरहरैंचा नगरपालिका र दुहबी नगरपालिकाबाट एउटा–एउटा दमकल मगाएर आगो निभायो । तर, दमकल आउने वेलासम्म धेरै नै क्षति भएको थियो । उपमहानगरसँग दमकल नहुँदा आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, क्याफेमा अन्दाजी ३५ लाख रुपैयाँको क्षति भएको छ । बिहानको समयमा आगलागी भएका कारण मानवीय क्षति भने भएन । ‘दमकल जेनजी प्रदर्शनमा जलिहाल्यो, क्याफेमा भएको आगलागी निभाउन समस्या भयो,’ इटहरी उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले भने । दमकल जलाइएकाले इटहरीका चार छिमेकी पालिकाबाट दमकल ल्याउँदा आगो निभाउन ढिलो भएको उनले बताए । 

यो घटना त सुरुवात मात्र हो । गर्मी याम सुरु भएको छ । आगलागीका घटनाको जोखिमको समय पनि हो । आन्दोलनमा अधिकांश स्थानीय तहमा तोडफोड भएका छन् । सवारीसाधनहरू जलाइएका छन् । जसमा दमकल पनि अछुतो रहेनन् । सुनसरीको क्याफेमा भएको आगलागीले त्यसको पुष्टि गरिसकेको छ । 

२०७७ सालदेखि बेखबर प्राधिकरण 

आगलागी कुन बेला लाग्छ । कसैलाई थाहा हुँदैन । विपद् कतिवेला आउँछ । त्यो पनि भनेर आउँदैन तर भईपरी आउने विपद्को पूर्वतयारी गर्नुपर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग देशभर कति दमकल छन् भन्ने यकिन डाटा नै छैन । त्यति मात्रै होइन, विध्वंसमा देशभर कति दमकल जले ? कति छन् भन्ने तथ्यांक नै प्राधिकरणसँग छैन । २०७७ सालयता कति दमकल छन् भन्ने डाटा नभएको प्राधिकरणकी सूचना अधिकारी शान्ति महत बताउँछिन् । ‘२०७७ सालको डाटामा देशभर ९६ वटा दमकल छन्,’ उनले भनिन्, ‘यो त धेरै पुरानो डाटा हो, नयाँ छैन ।’ 

जेनजी आन्दोलनको विध्वंसमा कति दमकल छन्, कति जले भन्ने यकिन डाटा नभएको उनले बताइन् । ‘गर्मी याम सुरु हुँदै छ, हामीले सबै पालिकासँग समन्वय गरेर डाटा निकाल्दै छौं,’ उनले भनिन् । गत वैशाख १ गतेदेखि चैत ११ गतेसम्म देशभर तीन हजार चार सय ८० आगलागीका घटना भएका छन् । प्राधिकरणका अनुसार एक सय दुईजनाको मृत्यु भएको छ भने पाँच सय ५७ जना घाइते भएका छन् । त्यसबाट तीन हजार नौ सय ३८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । 

त्यस्तै, देशभर दुई सय ७९ वटा डढेलोका घटना भए । जसबाट दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । ५२ जना परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ वटा आगलागीका घटना भए । त्यसमा लाखौंको क्षति भयो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फागुन लागेपछि आगलागीका घटना बढ्न थालेको छ । दैनिक आगलागीका घटना भइरहेका छन् ।

सम्बन्धित खबर