
लहान : विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्ने उद्देश्यले सिरहामा शैक्षिक सामग्री तथा नगद वितरण गरिएको छ ।
‘स्टुडेन्ट किट’ कार्यक्रम अन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका–६ स्थित कमला सामुदायिक सिकाई केन्द्रमा अध्ययनरत विद्यार्थीहरुलाई सामग्री प्रदान गरिएको केन्द्रकी सामाजिक परिचालिका किरण कुमारी साहले जानकारी दिइन् ।
उनका अनुसार सिकाई केन्द्रमा अध्ययनरत ९ देखि १५ वर्ष उमेर समूहका ३५ जना विद्यार्थीलाई प्रति विद्यार्थी १ थान झोला, १ सेट पोशाक, ४ वटा अन्डरपाइन्ट, १२ वटा कापी, १२ वटा कलम, १२ वटा पेन्सिल, ३ वटा रुमाल, १ वटा काइँयो र १ वटा नङ काट्ने (नेल कटर) लगायतका शैक्षिक सामग्री वितरण गरिएको हो ।
त्यसैगरी, बालबालिकालाई डिजिटल शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त केन्द्रलाई १२ वटा ल्यापटपसमेत हस्तान्तरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत सोही केन्द्रमा अध्ययनरत १० वटा विपन्न परिवारलाई प्रति परिवार २० हजार रुपैयाँका दरले नगद अनुदान पनि प्रदान गरिएको छ ।
मधेश प्रदेशका धनुषा र सिरहा जिल्लामा युनिसेफ नेपालको आर्थिक सहयोग तथा एसओडिसीसी पर्साको समन्वयमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ को कमला सामुदायिक सिकाई केन्द्र र नवराजपुर गाउँपालिकाको शहीद रमेश महतो सामुदायिक सिकाई केन्द्र तथा धनुषाको जनकपुरस्थित हनुमान सामुदायिक सिकाई केन्द्रमा कार्यक्रम सञ्चालन भइरहेको छ ।
एसओडिसीसी पर्साका अध्यक्ष मो. ईब्राहिमका अनुसार कल्याणपुरस्थित उक्त केन्द्रको कार्यसम्पादन उत्कृष्ट रहेको छ । कमला सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बिनय महासेठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कल्याणपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख जयप्रकाश दास, क्इम्ऋऋ पर्साका प्रतिनिधि विशाल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
कार्यसम्पादन उत्कृष्ट रहेको सो केन्द्रमा किशोरी शिक्षा कार्यक्रम अन्तर्गत समग्र जनउत्थान केन्द्र लहान र समुन्नत नेपालले पनि अर्थिक तथा प्राविधिक सहयोग गरिरहेको संस्थापक अध्यक्ष कुशेश्वर पञ्जियारले बताए ।