सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी गरेको छ । सरकारका प्रवक्ता एवम् सूचना, प्रविधि तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयकबारे सत्तारुढ गठबन्धनको बैठकमा छलफल भएको जानकारी दिए । तर विधेयकमा सत्तारुढ दलहरुबीच सहमति भने जुट्न सकेन । दलहरुबीच मतैक्य नहुँदा नागरिक विधेयक अगाडि बढ्न सकेको छैन । जबकी संविधान बनेको तीन वर्षभित्रै नागरिकता सम्बन्धी कानून बनिसक्नुपर्ने थियो । तर संविधान बनेको सात वर्ष हुन लाग्दा समेत नागरिकता सम्बन्धी कानून बन्न सकेको छैन । जबकी यो अवधिमा स्थानीय तहको दुई पटक चुनाव भइसक्यो । ०७४ को चुनावबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिएपछि गएको ३० वैशाखमा स्थानीय चुनाव सम्पन्न भएको छ ।
प्रदेश तथा प्रतिनिधिसभाको चुनाव पनि दोस्रो पटक हुने तयारी भइरहेको छ । ०७४ मा मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि संघमा दुई र प्रदेशमा तीन वटा समेत सरकार बनिसकेको छ । झण्डै ४० महिना केपी शर्मा ओली र गएको वर्ष २९ असारदेखि शेरबहादुर देउवा देशका प्रधानमन्त्री भइसके । बागमती र प्रदेश–१ मा तीन वटा सरकार परिवर्तन भइसकेको छ । तर संविधान कार्यान्वयनका लागि आवश्यक कानूनहरु बन्न सकेको छैन । कानून बन्न नसकेको मध्ये नागरिकता सम्बन्धी विधेयक पनि प्रमुख हो । विशेषगरी अंगीकृत नागरिकताबारे दलहरुको भिन्न मत छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी नागरिकता विधेयकबारे समान अडान लिएका छन् र नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी एकातिर छन् ।
कम्युनिष्ट पार्टीहरु नेपाली पुरुषसँग विवाह गरेर नेपालमा बसेकालाई ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने पक्षमा कम्युनिष्ट पार्टीहरु उभिएका छन् । तर कांग्रेस, जसपा र लोसपा भने समय अवधि नराख्ने पक्षमा उभिएका छन् । विधेयकहरु दलहरुबीच सहमति जुट्न नसकेकै कारणले जन्मसिद्ध बाबुआमाका छोराछोरीले समेत नागरिकता पाउन सकेका छैनन् । नेपालमा नागरिकता सम्बन्धी मतभेद नौलो चाहिँ होइन । दलहरुले भोट आकर्षित गर्नेगरी नागरिकता सम्बन्धी धारणा बनाउने गरेका छन् । तर उनीहरुले नागरिकता नपाउँदाको सास्ती भने बिर्सिएका छन्, नागरिकतालाई मत आकर्षिक गर्ने माध्यमका रुपमा उपयोग गर्दै आएका छन् । यदि त्यसो नहुँदो दलहरुकै अडानका कारण तीन वर्षभित्रै बनिसक्नुपर्ने कानून बन्न सकेको छैन । जनताको पक्षमा राजनीति गर्ने भन्ने दलहरुले नागरिकता जस्तो आधारभूत महत्वको विषयमै राजनीति गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies