
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेपालका ४३औं प्रधानमन्त्री बनेका छन् । संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा बालेन प्रधानमन्त्री बनेका हुन् ।
शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिए । आज मध्याह्न १२ः३४ बजे बालेनले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शपथ समारोहलाई विशेष धार्मिक विधिसहित गरिएको थियो । कार्यक्रममा सातवटा शंखबाट शंखनाद गरिएको थियो भने १०८ जना बटुकले स्वस्तिवाचन गरे । साथै, १०६ जना भिक्षुबाट अष्टमंगल पाठ गरिएको थियो ।
गत फागनु २१ मा सम्पन्न प्रनितिधि सभा निर्वाचनमा करिब दुई तिहाइ सिटमा जित हात पारेको रास्वपाले बालेनलाई बिहीबार संसदीय दलको नेता चयन गरेको थियो । नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
३६ वर्षीय बालेन सबैभन्दा कम उमेरमा देशको निर्वाचित प्रधानमन्त्री बनेका हुन् । काठमाडौंमा जन्मिएका मधेशी मूलका बालेन पेशाले सिभिल इन्जिनियर हुन् । राजनीतिमा आउनुअघि उनी नेपाली र्याप संगीतमार्फत चिनिएका थिए । उनका गीतहरूमा भ्रष्टाचार, असमानता र राज्यप्रतिको असन्तुष्टि झल्किन्थ्यो, जसले उनलाई युवामाझ लोकप्रिय बनायो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएपछि बालेन राष्ट्रिय राजनीतिमा स्थापित भए । उनले परम्परागत दलहरूलाई चुनौती दिँदै ‘नयाँ विकल्प’ को रूपमा आफूलाई प्रस्तुत गरे ।
भदौ २३÷२४ को जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक परिवर्तनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत राष्ट्रिय राजनीतिमा प्रवेश गरे । फागुन २१ मा झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ५० हजार मतान्तरले हराउँदै उनी निर्वाचित भएका थिए ।
नेपाली राजनीतिमा एउटा नयाँ इतिहास रच्दै काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेनले मुलुकको कार्यकारी प्रधानमन्त्री बनेका हुन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरको मेयरमा निर्वाचित भएपछि शाहको चर्चा चुलिएको थियो । मेयरका रूपमा सफल कार्यकाल बिताइरहेकै बेला उनले प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उम्मेदवारी दर्ता गर्नुभन्दा अघि मात्र मेयर पदबाट राजीनामा दिएका थिए ।
त्यसलगत्तै उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका थिए । रास्वपाले शाहलाई नै भावी प्रधानमन्त्रीको रूपमा अघि सारेर निर्वाचनमा होमिएको थियो । पार्टीको पूर्वघोषणा र जनताको म्यान्डेटअनुसार उनी प्रधानमन्त्री बनेका हुन् ।
२०४७ वैशाख १४ मा काठमाडौंको नरदेवीमा जन्मिएका बालेन्द्र शाहको पुख्र्यौली थलो मधेश प्रदेशको महोत्तरी जिल्ला हो । उनी आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साहका सन्तान हुन् । उनको शैक्षिक यात्रा काठमाडौंबाटै सुरु भएको हो । नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले तीनकुनेस्थित भिएस निकेतनबाट उच्च माध्यमिक शिक्षा पूरा गरे ।
उनले काठमाडौंको हिमालयन ह्वाइट हाउस कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् । उच्च शिक्षा (स्नातोकत्तर) का लागि उनी भारत पुगेका थिए, जहाँ उनले कर्नाटकबाट स्ट्रकचरल इन्जिनियरिङमा डिग्री हासिल गरे । प्राविधिक ज्ञान र निर्माणसम्बन्धी कार्यमा उनीसँग उनको अनुभव छ ।