
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । उनी पहिलोपटक मन्त्री बनेका हुन् । महोत्तरी–२ बाट निर्वाचित साहले यसअघि पूर्वश्रममन्त्री शरतसिंह भण्डारीलाई पराजित गरेका थिए । चिकित्सा क्षेत्रबाट राजनीति प्रवेश गरेका साहले अब श्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।
साह बहुआयामिक शैक्षिक र व्यावसायिक पृष्ठभूमि भएका व्यक्तित्वका रूपमा चिनिन्छन् । उनी हाल लण्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’का रूपमा अध्ययनरत छन् । यसअघि उनले लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी, प्लानिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन् ।
त्यस्तै, इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर, अप्टोमेट्रीमा उच्च अध्ययन र नेपाल ल क्याम्पसबाट एलएलबी उत्तीर्ण गरेका छन् ।
विश्व स्वास्थ्य संगठन तथा युके हेल्थ सेक्युरिटी एजेन्सीजस्ता अन्तर्राष्ट्रिय संस्थामा नीतिनिर्माण र स्वास्थ्य प्रणाली सुधारसम्बन्धी अनुभव बटुलेका साह मैथिली भाषा, कला र साहित्यको प्रवर्धनमा पनि सक्रिय रहेको बताइन्छ ।
पदभार सम्हाल्दै के भने ?
शुक्रबार मन्त्रीको पद तथा गोपनीयताको सपथ लिएलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै साहले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सीप र तालिमलाई उच्च प्राथमिकतामा राख्ने बताएका छन् ।
उनले नेपाली कामदारलाई दक्ष बनाएर सुरक्षित र सम्मानजनक रोजगारीमा पठाउने आफ्नो मुख्य योजना रहेको उल्लेख गरे । ‘विदेशमा रहेका तथा समस्यामा परेका कामदारको पक्षमा सक्रिय रूपमा काम गर्ने मेरो प्रतिबद्धता छ,’ उनले भने ।
पदभार ग्रहणसँगै साहले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानको पाँच वर्षे रणनीतिक योजनासम्बन्धी फाइल सदर गर्दै कामको थालनी गरेका छन् । सो क्रममा उनले मन्त्रालयका सचिव डा. दीपक काफ्ले तथा विभागीय प्रमुखहरूबाट प्रारम्भिक ब्रिफिङ पनि लिएका थिए ।
पदबहालीपछि सञ्चारकर्मीले मध्यपूर्व तनावका कारण समस्यामा परेका नेपाली कामदारको उद्धारबारे प्रश्न गर्दा उनले समय अभाव जनाउँदै विस्तृत प्रतिक्रिया दिन चाहेनन् । मन्त्रिपरिषद् बैठकमा जानुपर्ने भन्दै उनी हतारमा निस्किएका थिए ।