
काठकाडौंः एमालेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्ध संघर्षका चार कार्यक्रम गर्ने भएको छ । आज विहान केन्द्रीय कार्यालयमा बसेको बैठकले संघर्षका चार कार्यक्रम गर्ने निर्णय गरेको हो ।
जसअनुसार आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने पहिलो कार्यक्रम तय गरेको छ ।
यस्तै दोस्रोमा शनिबार अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, तेस्रोमा प्रत्येक जिल्लामा आइतबार चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम रहेको छ ।
चौथोमा लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गर्ने निर्णय भएको सचिव महेश बस्नेतले जानकारी दिए ।