२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

पत्रकार रजकको मृत्यु घटनाको एक वर्ष, दोषीमाथि कारबाही गर्न सरकारसँग पुनः माग

himalayanlife
२०८२ चैत १५ गते १२:२०
Shares
पत्रकार रजकको मृत्यु घटनाको एक वर्ष, दोषीमाथि कारबाही गर्न सरकारसँग पुनः माग

काठमाडौं : २०८१ साल चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा आगजनीमा परेर मृत्यु भएका एभिन्यूज खबरका भिडियो पत्रकार सुरेश रजकको हत्याको एक वर्ष पूरा भएको छ । तर, घटनाको सत्यतथ्य सार्वजनिक नहुनु र दोषीमाथि कारबाही नभएको भन्दै सरोकारवालाले असन्तुष्टि जनाएका छन् । 

यसैबीच एभिन्यूज खबरले आफ्ना दिवंगत पत्रकारको सम्झनामा ‘शहीद सुरेश रजक स्मृति साहसिक टेलिभिजन पत्रकारिता सम्मान’ घोषणा गरेको छ । सो सम्मान प्रत्येक वर्ष एक जना साहसी टेलिभिजन पत्रकारलाई प्रदान गरिने जनाइएको छ । सम्मानको राशी एक लाख एक हजार एक सय एक रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष असार महिनाको अन्तिम दिन एभिन्यूज खबरको वार्षिक उत्सवका अवसरमा वितरण गरिनेछ ।

आगामी २०८२ असार ३२ गते पहिलोपटक प्रदान गरिने उक्त सम्मानका लागि २०८१ चैत १५ देखि २०८२ चैत १५ सम्म प्रसारण भएका साहसिक तथा अनुसन्धानमूलक टेलिभिजन रिपोर्टहरू पेश गर्न आह्वान गरिएको छ ।

पुरस्कार छनोटका लागि वरिष्ठ पत्रकार तिर्थ कोइराला, लक्ष्मण उप्रेती, विनोद ढुंगेल तथा एभिन्यूज खबरका दिवाकर शाह सदस्य रहेको समिति गठन गरिएको छ । समितिको संरक्षकमा एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्कर राज राजकर्णिकार रहने जनाइएको छ ।

यसैगरी, सम्मानलाई दीर्घकालीन बनाउन १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । कोष सञ्चालन समितिमा सुजैन मगिया, रमेश रजक, दिवाकर शाह सदस्य रहने तथा भाष्कर राज राजकर्णिकार संरक्षक रहने व्यवस्था गरिएको छ ।

यस्तै एभिन्यूज खबरले रजकको मृत्यु भएको एक वर्ष बितिसक्दा पनि घटनाको न्यायिक छानबिन नहुनु, प्रतिवेदन सार्वजनिक नगरिनु तथा दोषीलाई कारबाही नगरिनु दुःखद र रहस्यमय रहेको जनाएको छ । साथै राष्ट्रिय मानव अधिकार आयोग समेत मौन बसेको भन्दै प्रश्न उठाइएको छ ।

यद्यपि, जनआन्दोलनपश्चात् बनेको अन्तरिम सरकारले रजकलाई शहीद घोषणा गर्नुका साथै उनकी श्रीमती सुजैन मगियालाई निजामती सेवामा रोजगारी प्रदान गरेकोप्रति संस्थाले सरकारप्रति आभार व्यक्त गरेको छ । घटनाको सत्यतथ्य सार्वजनिक गर्न, दोषीलाई कडा कारबाही गर्न तथा रजकले ज्यान गुमाएको तीनकुने क्षेत्रमा उनको प्रतिमा स्थापना गर्न माग दोहोर्‍याइएको छ । घटनाको एक वर्ष पूरा हुँदा पनि न्याय नपाएको भन्दै पत्रकार समुदाय र परिवारले छिटो छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग पुनः माग गरेका छन् । 

ताजा खबर

सम्बन्धित खबर