
काठमाडौं : भर्खर जेनजी आन्दोलन सकिएको थियो । अन्तरिम सरकार बन्दैथियो । प्रदर्शनको सुरुमा स्वयंसेवकका रूपमा प्रवेश गरेका सुधन गुरुङ आन्दोलन सकिँदा मुख्य नेताका रुपमा निस्केका थिए । त्यहीबेला रिपोटर्स क्लबमा पुगेर उनले भनेका थिए, ‘नेताहरुलाई अब तलब नराख्ने । मन्त्रीले ट्याँ ट्याँ र टुँ टुँ गर्न अब पाएन ।’
चैत १३ मा गृहमन्त्री नियुक्त भएका गुरुङ आफ्नो वचनमा पक्का देखिएका छन् । गृहमन्त्रीको सरकारी गाडी गृह मन्त्रालयको आँगनमा पार्किङमा छ । गृहमन्त्री भने आफ्नै रातो कारमा हुँइकिएका छन् । उनले गाडी चालक पनि राखेका छैनन् । अगाडिको सिटमा बडीगार्ड राखेर आफैं गाडी हाँकेर गृहमन्त्री गुरुङ सिंहदरबारदेखि प्रहरी कार्यालयहरू कुदिरहेका छन् ।
बितेको ६ महिनामा हामी नेपाल नामक एनजिओ सञ्चालक गुरुङ एकाएक राजनीतिको केन्द्रमा पुगेका छन् । गत निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र तत्कालीन मन्त्री कुलमान घिसिङलाई एकाठाउँ ल्याउनमा उनको ठुलो भूमिका देखिन्छ । घिसिङले १२ दिनमै एकता भंग गरे पनि रवि–बालेन एकताले रास्वपाको पक्षमा ठूलो जनलहर ल्याइदियो ।
आफू कुनै दलको सदस्य नरहेको बताइरहेका गुरुङ पनि रास्वपाबाटै गोरखा-१ मा चुनाव लड्न गए । चुनाव जितेलगत्तै रास्वपाले नवनिर्वाचित सांसदका लागि राखेको प्रशिक्षणमा पत्रकारहरूले गुरुङलाई सांसद/मन्त्रीको तलब र गाडी सुविधाबारे प्रश्न सोधे । त्यतिबेला पनि गुरुङको जवाफ थियो, ‘म तलब नलिने । मलाई सरकारी गाडी किन चाहियो, मेरो आफ्नै छ ।’
यसअघि अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले पनि सरकारी गाडी चढेका थिएनन् । उनले पनि आफ्नै निजी गाडीमा कुदेर कार्यकाल पूरा गरेका हुन् ।