
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा नोटबन्दी नगर्ने स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जाल एक्समा एक प्रयोगकर्ताले भारतको २०१६ को नोटबन्दीजस्तो कदम नचाल्न आग्रह गर्दै भ्रष्टाचार नियन्त्रणका लागि अन्य राम्रा विकल्प रहेको उल्लेख गरेका थिए । जवाफमा मन्त्री वाग्लेले संक्षिप्त रूपमा ‘हामी गर्दैनौं’ भनेका छन् ।
केही दिनयता भ्रष्टाचार र कालो धन रोक्न ठुला नोटहरू प्रतिबन्ध लगाउनुपर्ने बहस चलेको थियो । तर अर्थमन्त्री वाग्लेले यस्तो नीति नलिने प्रष्ट गरेका हुन् ।
भारतमा २०१६ मा गरिएको नोटबन्दीले अर्थतन्त्रलाई ठुलो क्षति पुर्याएको र लक्ष्यअनुसार कालो धन बाहिर नआएको तर्क अझै छ । नेपालमा पनि विद्युतीय कारोबार बढेसँगै नगदको प्रयोग घट्दै गएको छ ।
मन्त्री वाग्लेको यो भनाइले नोटबन्दीको हल्लालाई पूर्ण रूपमा निरुत्साहित गरेको छ ।