
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा आगामी २०८३ वैशाख १ गतेदेखि रात्रिकालीन सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ। प्रारम्भिक चरणमा चार रुटमा विद्युतीय बस सञ्चालन गरिने योजना छ ।
महानगरका अनुसार ललितपुरको लगनखेलबाट पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बुढानीलकण्ठसम्म उत्तर-दक्षिणतर्फ करिब १६ किलोमिटरको रुट तय गरिएको छ । यस्तै, थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय विमानस्थलसम्म पूर्व-पश्चिम दिशामा करिब २० किलोमिटरको अर्को रुट रहनेछ। यी रुटमा चारवटा रात्रिकालीन विद्युतीय बस सञ्चालन हुने जनाइएको छ ।
सेवा सञ्चालन समय साँझ ८ बजेदेखि राति ११ बजेसम्म निर्धारण गरिएको छ भने प्रत्येक २० मिनेटको अन्तरमा बस उपलब्ध गराइनेछ। बसमा सिसिटिभी क्यामरा जडान गरिने र सुरक्षाका लागि नगर प्रहरी परिचालन गरिने योजना छ ।
महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायात साँझपछि अभाव हुने अवस्थालाई सम्बोधन गर्न यो सेवा सुरु गर्न लागिएको बताएकी छिन् । ‘बेलुका ८ बजेपछि सार्वजनिक यातायात सञ्चालन नहुँदा महँगो यात्रा गर्नु पर्ने विद्यमान अवस्थामा सुधार गर्न जरुरी भएकोले रात्रिकालीन सार्वजनिक यातायात सेवा सुरु गर्न लागेका हौँ,’ उनले भनिन् । उनका अनुसार सार्वजनिक यातायातको अभावले सर्वसाधारण, विशेष गरी विद्यार्थी र महिलालाई समस्या पर्ने अवस्था रहेको छ ।
महानगरपालिकाले यो सेवालाई दिगो, सुरक्षित र एकीकृत सार्वजनिक यातायात प्रणालीको प्रारम्भिक कदमका रूपमा लिएको जनाएको छ। सेवा विस्तारका लागि अन्य साझेदारसँग सहकार्य गर्ने तयारीसमेत गरिएको छ ।