
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको पहिलो दिनदेखि नै उत्तरपुस्तिका परीक्षण कार्य अघि बढाइएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहीबारदेखि परीक्षण प्रक्रिया सुरु गरिएको हो ।
पहिलो दिन बिहान ८ बजेदेखि ११ बजेसम्म अंग्रेजी विषयको परीक्षा सञ्चालन भएको थियो । परीक्षा सम्पन्न भएपछि सम्बन्धित केन्द्रमा उत्तरपुस्तिका परीक्षण सुरु गरिएको जनाइएको छ ।
कार्यालयले प्रत्येक विषयको परीक्षा सम्पन्न भएको तीन दिनभित्र परीक्षण कार्य सक्ने योजना बनाएको छ । परीक्षण कार्य केन्द्राध्यक्षको नेतृत्वमा सञ्चालन हुनेछ भने निष्पक्षता कायम गर्न सम्बन्धित विद्यालयका शिक्षकलाई आफ्नै विद्यालयका विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्न अनुमति दिइने छैन ।
यस वर्ष एसइईका लागि पाँच लाख १२ हजार ४२१ विद्यार्थीले फारम भरेका छन् । परीक्षा २९ गतेसम्म सञ्चालन हुने तालिका छ। परीक्षण कार्य सम्पन्न भएपछि एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।