
काठमाडौँ : नेपालको विदेशी विनिमय सञ्चितिले नयाँ उचाइ चुमेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति बढेर ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ ।
२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६४ करोड रहेको यस्तो सञ्चिति आठ महिनाको अवधिमै २७.५ प्रतिशतले वृद्धि भएको हो । अमेरिकी डलरमा पनि सञ्चितिमा ठुलो उछाल आएको छ। असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेको सञ्चिति १८.३ प्रतिशतले बढेर फागुन मसान्तसम्ममा २३ अर्ब ८ करोड डलर पुगेको छ ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ३० खर्ब ३५ अर्ब ११ करोड रहेको छ, जुन असारको तुलनामा २५.७ प्रतिशतले बढी हो । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूसँग ३ खर्ब ७८ अर्ब ६६ करोड विदेशी मुद्रा सञ्चिति रहेको छ। कुल सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ।
सञ्चिति पर्याप्तता सूचकका आधारमा नेपालको अर्थतन्त्र हालसम्मकै सर्वाधिक सुरक्षित अवस्थामा पुगेको छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैङ्किङ क्षेत्रसँग रहेको यो विदेशी मुद्राले २१.४ महिनाको वस्तु आयात र १८।५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ। सामान्यतया ६ देखि ७ महिनाको आयात धान्ने सञ्चितिलाई राम्रो मानिने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि नेपालसँग साढे १८ महिनाको आयात धान्ने क्षमता हुनुले अर्थतन्त्र निकै बलियो स्थितिमा रहेको प्रस्ट पार्छ ।
फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५५.९ प्रतिशत, कुल आयातसँगको अनुपात १५३.४ प्रतिशत र विस्तृत मुद्रा प्रदायसँगको अनुपात ४०.८ प्रतिशत रहेको छ ।
शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब बचतमा
शोधनान्तर स्थित ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब १० अर्ब ३७ करोड रुपैयाँमात्र थियो । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रिने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा पुगेको हो ।
निश्चित समय अवधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भए वाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भए विदेशी मुद्रा वाह्य प्रवाह बढी हुन जान्छ । शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । रेमिट्यान्स आप्रवाह उल्लेख्य हुँदा त्यसको सकारात्मक प्रभाव शोधनान्तर स्थितिमा पर्छ ।
अमेरिकी डलरमा अघिल्लो वर्ष यसै अवधिमा २ अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति अहिले ४ अर्ब ६१ करोड बचतमा छ । यस अवधिमा चालु खाता ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा छ । अघिल्लो आव १ खर्ब ९७ अर्ब ३ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्ष १ अर्ब ४६ करोडले बचतमा रहेको चालु खाता यस वर्ष ३ अर्ब ८८ करोडले बचतमा छ । यस अवधिमा खुद पूँजीगत ट्रान्स्फर १२ अर्ब ५९ करोड छ । अघिल्लो वर्ष यस्तो ट्रान्स्फर ६ अर्ब ४१ करोड थियो । प्रत्यक्ष वैदेशिक लगानी १० अर्ब ८४ करोड रुपैयाँ बराबर भित्रिएको छ ।
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो, ३७ प्रतिशतले वृद्धि
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो आठ महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह जम्मा ९.५ प्रतिशतले मात्र बढेको थियो । २०८२ फागुन महिनामा मात्रै १८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो वर्षको फागुन महिनामा १५१ अर्ब १९ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो ।
अमेरिकी डलरमा गणना गर्दा विप्रेषण आप्रवाह ३१ प्रतिशतले वृद्धि भई १० अर्ब १५ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । अघिल्लो वर्ष डलरमा यस्तो आप्रवाह ७१ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) समेत बढेर १५ खर्ब ९१ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।
व्यापार घाटा ११ प्रतिशतले बढ्यो
नेपालको वैदेशिक व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको सोही अवधिमा ६.२ प्रतिशतले बढेको व्यापार घाटा यस वर्ष झन् तीव्र बनेको हो ।
समीक्षा अवधिमा निर्यात र आयात दुवै बढे पनि आयातको आकार ठूलो हुँदा व्यापार असन्तुलन चुलिएको देखिएको छ । चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई १ खर्ब ९१ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ५७.२ प्रतिशतको उच्च दरले बढेको थियो ।
उकालो लाग्यो मुद्रास्फीति, इन्धन भाउ बढ्दा सबै क्षेत्रमा बढ्दै महँगी
मुद्रास्फीति उकालो लाग्न सुरु भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.६२ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षकै हाराहारी हो ।
यसअघि कात्तिक/मंसिरमा मुद्रास्फीति तल्लो बिन्दुमा थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.६० प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको ६.३३ प्रतिशत छ । अघिल्लो वर्ष यी समूहको मुद्रास्फीति क्रमश: ३.३४ र ३.९७ प्रतिशत थियो ।