२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

कम्बोडियाबाट तीन नेपालीको उद्धार

Nada
२०८२ चैत २० गते १२:३३
Shares
कम्बोडियाबाट तीन नेपालीको उद्धार

काठमाडौँ : विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका तथा त्यहाँ अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो र अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएका तीन नेपालीको उद्धार गरिएको छ ।

ncell

नेपाली राजदूतावास बैंककका अनुसार कम्बोडिया सरकारको सहयोग र दूतावासको पहलमा उद्धार गरिएका ती नेपालीहरूलाई गैरआवासीय नेपाली संघ(एनआरएनए) कम्बोडियाको सहजीकरणमा चैत १९ गते कम्बोडियाबाट नेपाल पठाइएको हो । उनीहरू आज (चैत २०) गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

दूतावासले कठिन परिस्थितिमा परेका तथा अलपत्र रहेका अन्य नेपालीलाई पनि नेपाल फर्काउने पहल जारी रहेको जनाएको छ ।

दूतावासका अनुसार कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको तथा बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेको जानकारी प्राप्त भएको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई नेपाल फर्कन सहजीकरणको लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिसँग यथाशीघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ ।

दूतावासले स्क्यामिङ केन्द्रमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा स्थानान्तरणका क्रममा हराएको भन्ने गुनासो धेरै आएको जनाएको छ । यस्तो अवस्थामा नेपाल फर्किनका लागि दूतावासले बिना शुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार नेपालीको आवागमन पछिल्ला वर्षमा तीव्र रूपमा बढेको छ । सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा २०२२ मा १,९७७, २०२३ मा २,९४०, २०२४ मा ६,४०४ र २०२५ मा ९,६७६ नेपाली पुगेको देखिएको दूतावासले जनाएको छ ।

नेपाल सरकारले भनेका मापदण्डअनुसार मात्र वैदेशिक रोजगारीका लागि विदेश जानुपर्ने, र प्रलोभनमा परी कम पैसा र छिटो कमाउने लालचमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकमा जान नहुने चेतावनी दिएको छ । 

नेपाली राजदूतावास बैंककले आमसञ्चार माध्यम र नागरिक समाजमार्फत पनि यो सन्देश प्रवाह गरी सहयोग गरिदिन अनुरोध गरेको छ । 

uae

सम्बन्धित खबर