काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग सहकार्य गरी वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्याको समाधान खोज्ने बताएका छन् ।
नवनियुक्त मन्त्री कुँवरलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्न संघको नेतृत्वमा गएका वैदेशिक रोजगार व्यवसायीहरूलाई बिहीबार मन्त्रालयमा सम्बोधन गर्दै मन्त्री कुँवरले उक्त कुरा बताएका हुन् । यसअघि मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएपछि एक्लाएक्लै पुगेर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिने गरेका व्यवसायीहरूले अहिले भने संघको नेतृत्वमा एकमुष्ट बधाई दिएका हुन् ।
संघका तर्फबाट संयोजक विमलप्रसाद ढकालले वैदेशिक रोजगारका क्षेत्रमा समाधान हुन नसकेका समस्या राखेपछि मन्त्री कुँवरले मन्त्रालयको टिम र व्यवसायीसँग सहकार्य गरेर अघि बढ्ने बताए । आन्तरिक रोजगारी र वैदेशिक रोजगारी दुबै क्षेत्रमा रहेका समस्याको समाधान खोज्नुपर्ने अवस्था रहेकोले गम्भीरताका साथ गृहकार्य गर्ने भन्दै मन्त्री कुँवरले पार्टीले फिर्ता बोलाएको दिन फिर्ता हुनुपर्ने भएकाले गर्नुपर्ने काम तदारुकताका साथ अघि बढाउने बताए ।
शुभकामनाका लागि संघ संयोजक ढकालको नेतृत्वमा गएको टोलीमा संघ तदर्थ समितिका सदस्य दिलप्रसाद पोखरेल, प्रेमबहादुर कटुवाल, रघुनाथ पुरी र वाइबी राई, नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको हैसियतमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनका अध्यक्ष कुमुद खनाल र चिरञ्जीवी बस्याल, नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव जनक रावल, नेकपा एकीकृत समाजवादी निकट एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका अध्यक्ष सन्तकुमार लामा र महासचिव मधुकर रिजाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छा दोर्जे डिमडोङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं वैदेशिक रोजगार इन्चार्ज लक्ष्मण पन्त, संघीय समाजवादी पार्टी निकट समाजवादी वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष अख्तर हुसेन र महासचिव हृदय नारायण दासलगायतका व्यवसायी सहभागी थिए ।
संयोजक ढकालले सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्ने सम्बन्धमा तत्काल बाधा अड्काउ फुकाउ आदेश जारी हुनुपर्ने आम व्यवसायीको माग रहेकोे भन्दै नवनियुक्त मन्त्री कुँवरको ध्यानाकर्षण गराएका थिए ।
जवाफमा मन्त्री कुँवरले ऐनमा नै संख्या तोकेर वैदेशिक रोजगारमा कामदार पठाउनुपर्ने व्यवस्था मुर्खतापूर्ण भन्दै त्यस विषयमा मन्त्री नियुक्त हुनुअगावै जानकार रहेकाले समस्याको समाधानका लागि तदारुकताका साथ पहल गर्ने आश्वासन दिएको भेटमा सहभागी मञ्चका महासचिव डिमदोङले बताए ।
मन्त्री कुँवरले सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्ने सम्बन्धमा निर्णय गरी रायका लागि बिहीबार कानून मन्त्रालय पठाएको भनिएको उक्त निर्णय शुक्रबार मात्रै पठाएको संयोजक ढकालले बताए । ‘बिहीबार पनि मन्त्रालयले कानून मन्त्रालयमा राय मागेको तर उक्त राय संख्या सयको विषयमा नभई वैदेशिक रोजगार ऐन संशोधनका लागि भएको पाइयो, तर त्यो भन्दा अर्जेन्ट संख्या सय सम्बन्धी हो भनेर मन्त्रीको ध्यानाकर्षण गराएका छौं,’ संयोजक ढकालले भने ।
कानून मन्त्रालयले केही नेपाल ऐन संशोधन गर्ने विधेयक वर्षे अधिवेशनमा पेश गर्ने तयारी गरेकोे छ । त्यसमा वैदेशिक रोजगार ऐनका केही प्रावधान पनि समेटिएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies