
काठमाडौं : राष्ट्र निर्माण दलका अध्यक्ष एवं मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर तराई मधेशमा व्याप्त पानीको अभाव र विद्युत् समस्या समाधानका लागि ठोस पहल गर्न आग्रह गरेका छन् ।
मन्त्रालयमा भएको भेटमा अन्सारीले नेपालभर नै पानीको अवस्था नाजुक रहेको र विशेषगरी तराई मधेशमा गत वर्ष पानीको अभावले संकटकाल घोषणा गर्नुपर्ने अवस्था आएको स्मरण गराएका हुन् । अन्सारीले तराई मधेशको नाजुक अवस्थालाई सुधार गर्न मन्त्रालयमार्फत ठोस नीति र निर्देशन जारी गर्नुपर्नेमा जोड दिए ।
जवाफमा मन्त्री श्रेष्ठले मधेशको मरुभूमिकरण र जलवायु परिवर्तनको असरलाई आफूले गम्भीरताका साथ लिएको बताए । उनले जलवायु परिवर्तनका कारण भइरहेको पलायन रोक्न र पुराना योजनाहरूलाई द्रुत गतिमा अघि बढाउन समितिहरू परिचालन गरिएको जानकारी दिए ।