२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

एसइईमा ‘अनलाइन चिट’ गिरोह सक्रिय, रौतहटबाट तीन युवक पक्राउ

Nada
२०८२ चैत २० गते २१:०३
Shares
एसइईमा ‘अनलाइन चिट’ गिरोह सक्रिय, रौतहटबाट तीन युवक पक्राउ

रौतहट : रौतहटमा जारी माध्यमिक शिक्षा परीक्षा (एसइई)को मर्यादा विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जना युवकलाई पक्राउ गरेको छ । गरुडा नगरपालिका–४ स्थित गरुडा बजारबाट परीक्षा गोपनीयता भंग गर्ने कार्यमा संलग्न उनीहरूलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले नियन्त्रणमा लिएको हो ।

ncell

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे मोबाइल फोन र सामाजिक सञ्जालमार्फत परीक्षा सम्बन्धी अवैध गतिविधि भइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली खटिएको थियो । सोही आधारमा गरिएको खानतलासीका क्रममा अनलाइन माध्यम प्रयोग गरेर परीक्षा हलभित्र उत्तर पुर्‍याउने समूह सक्रिय रहेको फेला परेको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेकाहरूले ‘वाट्सएप’ समूह बनाएर विभिन्न परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर पठाउने र बाहिरै उत्तर तयार गरी परीक्षार्थीलाई मोबाइलमार्फत उपलब्ध गराउने गरेका थिए । यसरी संगठित रूपमा ‘अनलाइन चिट’ सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ पर्नेमा गरुडा नगरपालिका–७ का १८ वर्षीय चन्दन पटेल, वृन्दावन नगरपालिका–७ का २१ वर्षीय रोहित कुमार पटेल र सर्लाही बलरा नगरपालिका–८ का १८ वर्षीय धिरज साह रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक जीवनकुमार मैनालीले घटनाको पुष्टि गर्दै पक्राउ परेकामाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। उनले प्रविधिको दुरुपयोग गर्दै परीक्षा प्रणालीलाई प्रभावित पार्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिए ।

प्रहरीले उक्त समूहले कुन–कुन परीक्षा केन्द्रका विद्यार्थीहरूसँग सम्पर्क राखेको थियो र यसमा थप व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

यस वर्ष एसइईलाई मर्यादित र भयरहित वातावरणमा सञ्चालन गर्न प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको दाबी गरिए पनि प्रविधिको दुरुपयोगमार्फत हुने यस्ता गतिविधिले चुनौती थपिएको देखिएको छ। प्रहरीले अभिभावक र विद्यार्थीलाई यस्ता गैरकानुनी कार्यबाट टाढा रहन आग्रह गर्दै परीक्षा प्रणालीको गरिमा जोगाउन सहयोग गर्न अपिल गरेको छ ।

uae

सम्बन्धित खबर