
साउदी अरवः बैतडीको दोगडाकेदार –१, रिम निवासी १६ वर्षीय हरिस भुलको गम्भीर स्वास्थ्य अवस्था र उनको परिवारको नाजुक आर्थिक स्थितिलाई मध्यनजर गर्दै नेपाली साझा मञ्च साउदी अरवद्वारा सञ्चालित सहयोग अभियानअन्तर्गत संकलित रकम हस्तान्तरण गरिएको छ ।
शारीरिक रूपमा अपाङ्गता र सुस्त मनस्थिति भएका भुल विगत दुई महिनादेखि खुट्टाको गम्भीर समस्याबाट ग्रसित भइ हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनमा उपचाररत छन् । चिकित्सकहरूका अनुसार उनको ज्यान जोगाउन खुट्टा काट्नुपर्ने बाध्यात्मक र कष्टकर अवस्था सिर्जना भएको छ। भुलको उपचार खर्च जुटाउन धौ–धौ परिरहेको अवस्थामा परिवारलाई राहत पुर्याउने उद्देश्यले मञ्चले आर्थिक संकलनको पहल गरेको थियो ।
उक्त अभियानअन्तर्गत मञ्चको पहलमा संकलित नगद रु. ३४ हजार ६१९, पीडितको बैंक खातामा प्राप्त रु. २० हजार र उनका संरक्षक अमर सार्कीको खातामा प्राप्त रु. १५ हजार ८५० गरी जम्मा ७० हजार ४६९ रुपैयाँ सहयोग जुटेको मञ्चले जनाएको छ । उक्त रकममध्ये मञ्चको पहलमा संकलित रु. ३४ हजार ६१९ नगद, मञ्चका उपाध्यक्ष भरत पौडेलले चितवनस्थित अस्पतालमा पुगी बिरामीका बुबा धौले भुल र काका अमर सार्कीलाई संयुक्त रूपमा हस्तान्तरण गरे ।
मानवीय सेवाको उक्त अभियानमा आफ्नो गाँस कटाएर आर्थिक, नैतिक तथा भौतिक सहयोग उपलब्ध गराउने सहयोगी मनहरूप्रति मञ्चले हार्दिक आभार एवं धन्यवाद प्रकट गरेको छ । यस्तै मञ्चले आगामी दिनमा पनि प्रवासमा रहेर आफ्नो माटो र मान्छेका दुःखमा यसरी नै ऐक्यबद्धता जनाइरहने प्रतिबद्धता व्यक्त गर्दै पीडित बालक भुलको सफल उपचार र शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।