
काठमाडौँ : संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित अज्बान क्षेत्रमा मिसाइल तथा ड्रोन अवरोधका क्रममा खसेको अवशेष लागेर सात जना नेपाली नागरिक घाइते भएका छन् ।
अबुधाबी मिडिया अफिसलाई उद्धृत गर्दै गल्फ न्युज, अनादोलु समाचार एजेन्सीले जनाएअनुसार वायु रक्षा प्रणालीले आक्रमणकारी मिसाइल र ड्रोनलाई आकाशमै नष्ट गर्ने क्रममा त्यसका टुक्रा जमिनमा खस्दा घटना भएको हो ।
उक्त घटनामा कुल १२ जना घाइते भएका छन्, जसमा सात जना नेपाली र पाँच जना भारतीय नागरिक रहेका छन् । घाइते नेपालीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्यदेखि मध्यम रहेको जनाइएको छ ।
“मिसाइल अवरोधपछि खसेको अवशेषका कारण १२ जना घाइते भएका छन्,” भन्दै अबुधाबी मिडिया अफिसले जनाएको छ, “घाइतेमध्ये केहीको अवस्था गम्भीर छ र सबैलाई तत्काल उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।”
यसैबीच, गल्फ न्युज, अनादोलु समाचार एजेन्सीका अनुसार उक्त घटना क्षेत्रीय सुरक्षा तनावका बिच भएको मिसाइल तथा ड्रोन आक्रमणलाई निष्क्रिय पार्ने क्रममा भएको हो ।
घटनापछि प्रभावित क्षेत्रमा आपतकालीन सेवा तथा सुरक्षाकर्मी परिचालन गरिएको र अवस्थालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।