
काठमाडौं : प्रगतिशील लेखक संघ, नेपालको आयोजनामा चैत्र २० र २१ गते कञ्चनपुर जिल्लामा सम्पन्न अन्तर्राष्ट्रिय संगोष्ठीबाट ‘दोधारा–चाँदनी घोषणापत्र’जारी गरिएको छ ।
घोषणापत्रमा नेपाली सीमाको रक्षा तथा राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि जीवन बलिदान गर्ने भीमदत्त पन्तदेखि पूर्नवास, कञ्चनपुर निवासी गोविन्द गौतमसम्मका ज्ञात अज्ञात शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
त्यसैगरी, सीमान्त क्षेत्रका आवाजलाई साहित्यमार्फत राष्ट्रिय मूलधारमा प्रवाहित गर्ने कार्यलाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशका भाषा, संस्कृति, कला तथा साहित्यलाई विश्व प्रगतिशील साहित्यमा प्रचारप्रसार गर्न ‘दोधारा चाँदनी विशेषांक’प्रकाशन गर्ने प्रतिबद्धता जनाइएको छ ।
घोषणापत्रमा वर्तमान परिवेशअनुसार प्रगतिशील लेखनलाई परम्परागत ढाँचाबाट बाहिर ल्याइ युवा पुस्ताको भावना समेट्दै परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
साम्राज्यवादी शक्तिहरूले आधुनिक प्रविधिमार्फत भाषा, साहित्य, कला र संस्कृतिमाथि प्रभाव पार्ने प्रयास गरिरहेको सन्दर्भमा राष्ट्रियता, सार्वभौमिकता, नेपाली मौलिकता र श्रमजीवी जनताको भावनालाई केन्द्रमा राखेर सशक्त साहित्य सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
भदौ २४ पछिको राजनीतिक अवस्थालाई विदेशी प्रभावमा परेको उल्लेख गर्दै घोषणापत्रमा एमसीसी पारित तथा एसपीपी जस्ता विषयमार्फत बाह्य हस्तक्षेप बढाइएको आरोप लगाइएको छ । साथै, वर्तमान सरकारले फासिष्ट तथा स्वेच्छाचारी शैली अपनाउँदै राजनीतिक दमन र गिरफ्तारी गरिरहेको भन्दै कडा आलोचना गरिएको छ ।
बामपन्थी शक्तिहरूलाई आपसी मतभेद थाती राखी राष्ट्रिय सार्वभौमसत्ता र लोकतान्त्रिक मूल्यको संरक्षणमा एकताबद्ध हुन आग्रह गरिएको छ । साथै, स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र स्वतन्त्र मिडियामाथि अंकुश लगाउने सरकारी कदमको पनि भत्र्सना गरिएको छ ।
भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रसम्बन्धी द्विपक्षीय व्यापार सम्झौता कार्यान्वयन गर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णयले नेपालको सार्वभौमसत्ता र अखण्डतामाथि गम्भीर असर पारेको उल्लेख गरिएको छ । उक्त सम्झौता तुरुन्त खारेज गरी अन्तर्राष्ट्रिय कानुनका आधारमा त्रिपक्षीय सम्बन्ध सुदृढ बनाउन माग गरिएको छ ।
अन्तर्राष्ट्रिय सन्दर्भमा अमेरिकी साम्राज्यवादलाई विश्व शान्ति र लोकतन्त्रका लागि खतरा भन्दै विभिन्न युद्ध र द्वन्द्वको विरोध गरिएको छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नीको रिहाइको माग गर्दै विश्वभर बढ्दो युद्धउन्माद अन्त्य गर्न पनि घोषणापत्रमार्फत जोडदार अपिल गरिएको छ ।