२०८३ कार्तिक ३ गते मङ्गलवार / Oct 20 , 2026 , Tuesday
२०८३ कार्तिक ३ गते मङ्गलवार

सरकारको स्वागतयोग्य सक्रियता

Nada
२०८२ चैत २२ गते ०६:१०
Shares
सरकारको स्वागतयोग्य सक्रियता

शुक्रबार रातभर चलेको नेपाल प्रहरीको सर्च अपरेसनका क्रममा काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ परे । गुण्डागर्दी, ठगी, बिचौलियालगायतमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको हो । परिणाममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रमा रहँदै आएका यात्रु तातातान गर्नेहरू, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न र बिचौलियाहरू त्रसित भएका छन् । यातायात कार्यालय परिसरबाट समेत बिचौलियाहरू पक्राउ परेका छन् । मालपोत कार्यालयमा रहेका बिचौलियाहरू पनि परेका छन् ।

ncell

२१ फागुनको निर्वाचनको जनादेशअनुसार नयाँ सरकार बनेको एक साता भयो । एक सातामै गलत कार्य गर्नेहरू कति जनालाई प्रहरीले नियन्त्रणमा लियो भन्ने विषय केवल संख्यात्मक उपलब्धि होइन, राज्यले नागरिकको दैनिक जीवनमा शान्ति र सुरक्षित वातावरण सुनिश्चित गर्न खोजिरहेको संकेत पनि हो । विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल र दरबारमार्ग जस्ता संवेदनशील तथा पर्यटकीय क्षेत्रहरूमा देखिएको कडाइले सकारात्मक सन्देश दिएको छ । यी स्थानहरूमा लामो समयदेखि यात्रु र पर्यटकलाई दुःख दिने, ठगी गर्ने तथा सेवा लिन जबरजस्ती गर्ने कार्य हुँदै आएका थिए । यस्तो गलत कार्यलाई नियन्त्रणमा ल्याउन गरिएको सक्रियता स्वागतयोग्य कदम हो । किनभने, राज्यको पहिलो दायित्व नागरिकको सुरक्षा हो । जब सार्वजनिक स्थलहरूमा नागरिकले सहज रूपमा हिँडडुल गर्न सक्दैनन्, त्यहाँ राज्यको उपस्थितिमाथि प्रश्न उठ्छ । यस अर्थमा पछिल्लो सर्च अपरेसनले नागरिकमा राज्यको उपस्थिति छ भन्ने सन्देश प्रवाह गरेको छ । यसले आम नागरिकमा सुरक्षा अनुभूति बढाउनुका साथै विदेशी पर्यटकका लागि समेत सकारात्मक प्रभाव पार्नेछ ।

तथापि, कानुनभन्दा माथि कोही छैनन् । प्रहरीका अपरेसनहरू कानुनी दायराभित्रै हुनु उत्तिकै आवश्यक छ । मुलुकी फौजदारी कार्यविधि २०७४ ले सर्च र पक्राउका लागि प्रक्रिया तोकेको छ । यदि ती प्रक्रियालाई बेवास्ता गरियो भने सकारात्मक उद्देश्यले अभियान सुरु गरिएको भए पनि आलोचना निम्तिन सक्छ । निर्दोष नागरिक अनावश्यक रूपमा नियन्त्रणमा पर्ने अवस्था सिर्जना भयो भने त्यो अर्को गम्भीर विषय बन्न सक्छ । यसमा सरकार सचेत हुनैपर्छ । अपराध नियन्त्रणका नाममा समेत कसैको अधिकार हनन हुन हुँदैन । यस निम्ति सर्च अपरेसन चलाउनु अगाडि आवश्यक प्रमाण संकलन, अनुसन्धानको गुणस्तर र कानुनी प्रक्रियामा ख्याल गर्न आवश्यक छ । प्रहरी सक्रियताको दीर्घकालीन प्रभावकारिता सुनिश्चित गर्न पनि पारदर्शिता, उत्तरदायित्व र कानुनी मर्यादाको पालना अपरिहार्य छ । यस्तो सन्तुलन कायम गर्न सके मात्र प्रहरीको सर्च अपरेसनले वास्तविक सफलता प्राप्त गर्नेछ ।

uae

सम्बन्धित खबर