
काठमाडौं : नयाँ वर्ष २०८३ को अवसर पारेर सिएफमोटो मोटरसाइकलको आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले ग्राहकमैत्री विशेष योजना सार्वजनिक गरेको छ । कम्पनीका अनुसार चैत २० गतेदेखि वैशाख ३१ गतेसम्म सञ्चालन हुने यो अफरले नयाँ तथा पुराना दुवै ग्राहकलाई लक्षित गरेको छ ।
योजनाअन्तर्गत सिएफमोटो २५० डुअल ईएफआई खरिद गर्ने ग्राहकले नगद तथा फाइनान्समार्फत खरीद गर्दा अधिकतम ८ हजार ३ सय रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, एक्सचेन्जमार्फत पुरानो मोटरसाइकल साट्ने ग्राहकले बजार मूल्यभन्दा थप १५ हजार रुपैयाँसम्म अतिरिक्त लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।
यसैगरी, प्रत्येक ग्राहकलाई एन्टी–फग प्रविधिसहितको प्रिमियम फुल फेस हेल्मेट उपहारस्वरूप प्रदान गरिनेछ । सुरक्षित र सहज यात्रालाई प्राथमिकता दिँदै यस्तो सुविधा समावेश गरिएको कम्पनीको भनाइ छ ।
योजनालाई थप आकर्षक बनाउन लक्की ड्र पनि राखिएको छ, जसअन्तर्गत एक जना भाग्यशाली ग्राहकले १ लाख रुपैयाँ नगद क्यासब्याक जित्ने अवसर पाउनेछन् ।
कम्पनीले आफ्ना केही मोडेलको मूल्यसमेत परिमार्जन गरेको छ । सिएफमोटो २५० एनके र ३०० एनके मोडेलको नयाँ अधिकतम खुद्रा मूल्य क्रमशः ४ लाख ४९ हजार ९ सय र ५ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ । यी मोडेल खरिद गर्ने ग्राहकले फुल फेस हेल्मेट र प्रोटेक्टिभ हुडी समेत प्राप्त गर्नेछन् ।
त्यस्तै, एड्भेन्चर सेग्मेन्टको लोकप्रिय मोडेल सिएफमोटो ४५० एमटी (जेफर ब्लु) खरिद गर्दा विशेष प्याकेजअन्तर्गत एड्भेन्चर राइडिङ ज्याकेट र प्रिमियम हेल्मेट उपलब्ध गराइनेछ ।
विद्युतीय स्कुटर सेग्मेन्टतर्फ जीहो एई८ मोडेलको मूल्य भने अफर अवधिभर ४ लाख ४९ हजार ९ सय रुपैयाँमै यथावत् रहने कम्पनीले जनाएको छ ।
बिक्रीसँगै कम्पनीले सेवा विस्तारमा पनि जोड दिएको छ । सन् २०२५ जनवरी १ देखि स्पेयर पार्ट्सको मूल्य घटाइएको उल्लेख गर्दै कम्पनीले यसले ग्राहकलाई राहत दिने र पार्ट्स महँगो हुने धारणा परिवर्तन गर्ने विश्वास व्यक्त गरेको छ ।
साथै, सेवा पहुँच विस्तार गर्ने योजनाअन्तर्गत आगामी वैशाखभित्र चितवन र पोखरामा ‘सेल्स, सर्भिस र स्पेयर पार्ट्स’ (३एस) सुविधा सहितका शोरुम सञ्चालनमा ल्याइनेछ । त्यसपछि आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकभित्र बुटवल र इटहरीमा समेत सेवा विस्तार गरिने कम्पनीको योजना छ ।
कम्पनीका अनुसार यस अभियानले देशभरका ग्राहकलाई मोटरसाइकल, स्पेयर पार्ट्स र मर्मत सेवामा सहज पहुँच उपलब्ध गराउने अपेक्षा गरिएको छ ।