
काठमाडौं : नयाँ सरकार बनेको डेढ सातामै शेयर बजार गम्भीर संकटतर्फ धकेलिएको छ । स्थिर सरकार आएपछि बजारले फड्को मार्ने अपेक्षा गरिरहेका लगानीकर्ता अहिले नोक्सानी बेहोरिरहेका छन् । सरकार गठनपछिको छोटो अवधिमै नेप्से परिसूचक २ सय ८४ अंकले घट्दा करिब ४ खर्ब रुपैयाँ बराबरको बजार पूँजीकरण गुमेको अनुमान गरिएको छ । सरकार गठन हुनुअघि नेप्से २९६० अंकमा पुगेको थियो । आइतबार मात्रै बजार १०५ अंकले ओरालो लाग्दा लगानीकर्ताको मनोबल झनै कमजोर भएको छ भने बजार २६७६ मा ओर्लिएको छ । सामाजिक सञ्जालमा लगानीकर्ताहरू ‘पोर्टफोलियो पत्तासाफ’ भएको भन्दै गुनासो गरिरहेका छन् भने केही लगानीकर्ता बिरोधमा उत्रिएका छन् ।
नयाँ सरकार गठन हुँदा सामान्यतः सेयर बजार सकारात्मक हुन्छ भन्ने मान्यता छ । त्यसमाथि अहिले रास्वपाले झण्डै दुई तिहाइको मत ल्याएर संसदमा दरिलो उपस्थिति जनाएपछि त लगानीकर्तामा ठुलो आशा जागेको थियो । राजनीतिक स्थायित्व, नीतिगत स्पष्टता र लगानीमैत्री वातावरणका कारण बजारमा विश्वास बढ्ने अपेक्षा लगानीकर्ताको थियो । तर बालेन सरकार बनेपछि ठीक उल्टो परिदृश्य देखिएको छ । सरकार बनेयता ६ दिन भएको कारोबारमा २ सय ८४ अंकको पहिरो जानुलाई सामान्य मान्न नसकिने बजारका जानकारहरू बताउँछन् । सरकारले प्रारम्भदेखि नै ‘कालोधन नियन्त्रण’ र ‘सम्पत्ति शुद्धीकरण’ जस्ता विषयलाई आक्रामक रूपमा अघि बढाएपछि व्यवसायी र लगानीकर्ताबीच त्रास फैलिएको देखिन्छ । सरकारले अनुसन्धान गरेर अगाडी बढ्नुभन्दा पनि सिधै पक्राउ गरेर हिरासतमा ल्याएर मात्र अनुसन्धान गर्ने नीति लिएपछि लगानीकर्तामा त्रास फैलाएको छ । बजारमा सक्रिय ठूला लगानीकर्ताहरूले जोखिम घटाउन सेयर बेच्न थालेपछि त्यसको प्रत्यक्ष असर सूचकांकमा परेको विश्लेषकहरू बताउँछन् ।
सरकारको कदमलाई कतिपयले आवश्यक सुधारको सुरुआत भनेका छन् भने बजारमा सक्रिय पक्षहरूले यसलाई ‘हचुवाको नीति’ भनेर आलोचना गरिरहेका छन् । व्यवसायीहरूका अनुसार स्पष्ट कार्ययोजना र चरणबद्ध रणनीतिबिना गरिएको कठोर सन्देशले निजी क्षेत्र त्रसित भएको छ । बैंकिङ, बीमा र उत्पादनमूलक क्षेत्रका कम्पनीहरूको सेयरमा उच्च गिरावट आउनु यसैको संकेत भएको उनीहरूको दाबी छ । लगानीकर्ता शारदा पौड्याल भन्छिन्, ‘सरकारले सुधार गर्नुपर्छ, तर बजारको मनोविज्ञान बुझ्नुपर्छ । अचानक कडा भाषण र संकेतले पूरै प्रणालीमा डर फैलायो ।’ सेयर बजार केवल अंकहरूको खेल मात्र होइन, यो विश्वास र मनोविज्ञानमा आधारित हुन्छ । बजार घट्नुको मुख्य कारण आर्थिक सूचकभन्दा बढी लगानीकर्ताको मानसिकता हुने गर्छ । हालको अवस्थाले यही तथ्य पुष्टि गरेको छ । सामाजिक सञ्जालमा देखिएको प्रतिक्रिया हेर्दा धेरै लगानीकर्ता आक्रोशित, निराश र अन्योलमा देखिन्छन् ।
‘घण्टी छापले पोर्टफोलियो पत्तासाफ बनायो’ भन्ने व्यंग्यात्मक टिप्पणीहरू भाइरल भइरहेका छन् । यसले बजारमा व्याप्त निराशा र सरकारप्रतिको असन्तोष झल्काउँछ ।
अर्थतन्त्रमा दोहोरो दबाब
नेपालको अर्थतन्त्र अहिले दबाबमा छ । एकातिर इन्धनको मूल्यबृद्धि, आयात निर्भरता र विदेशी मुद्रा सञ्चितिको चुनौती छ भने अर्कोतिर आन्तरिक उत्पादन कमजोर छ । यस्तो अवस्थामा सेयर बजारमा आएको तीव्र गिरावटले थप नकारात्मक असर पार्ने जोखिम देखिएको छ । लगानीकर्ताको सम्पत्ति घट्दा उपभोग घट्ने, बैंकिङ प्रणालीमा जोखिम बढ्ने, नयाँ लगानी सुस्त हुने र समग्र आर्थिक गतिविधि मन्द हुने हुँदा यसले समग्र अर्थतन्त्रको प्रणालीमा नै हानी गर्छ । अर्थशास्त्रीहरूका अनुसार सेयर बजारले समग्र अर्थतन्त्रको स्वास्थ्य देखाउँछ । अर्थतन्त्रका महत्वपूर्ण पिलरमध्ये सेयर बजार पनि एक हो । विकसित मुलुकमा लगानीकर्ताले सम्पत्ति गुमाउँदा राज्यले तत्काल सम्बोधन गर्ने परिपाटी भनएपनि नेपालमा सरकारले रमिता हेर्नेबाहेक अन्य काम नगर्ने परिपाटी रहेको स्टक ब्रोकर गुणानीधि भुसाल बताउँछन् । उनी भन्छन्, ‘बजारमा यसरी लगानीकर्ता अताल्लिरहेका बेला निरन्तर गिरावटलाई सरकारले बेवास्ता गर्न मिल्दैन ।’
बजार लगातार घटिरहेको अवस्थामा पनि सरकारका जिम्मेवार व्यक्तिहरूबाट स्पष्ट धारणा नआउनु लगानीकर्ताका लागि झनै निराशाजनक बनेको छ । विशेषगरी अर्थतन्त्रसँग सम्बन्धित निर्णयमा प्रमुख भूमिका खेल्ने प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको प्रतिक्रिया नआउँदा बजारमा अन्योल बढेको छ । सरकारका सय दिने सुधार कार्यक्रममा सेयर बजार परेको थिएन् । अहिले बजारमा तिब्र गिरावट आउँदा पनि सेयर बजारबारे सरकार मौन बस्दा लगानीकर्तामा झनै अन्यौलता बढेको हो । एक लगानीकर्ताले भने, ‘हामी घाटा सहिरहेका छौं, तर सरकारबाट एउटा आश्वासन पनि छैन । कम्तीमा बजार स्थिर बनाउने सन्देश त आउनुपर्छ ।’
विश्लेषकहरूका अनुसार स्थिति सुधार गर्न सरकार र नियामक निकायले तत्काल केही कदम चाल्नुपर्ने देखिन्छ । स्पष्ट नीति घोषणा, कालोधन नियन्त्रण र सम्पत्ति शुद्धीकरणको रोडम्याप सार्वजनिक गर्नुपर्ने, लगानीकर्ता, व्यवसायी र बैंकिङ क्षेत्रसँग नियमित संवाद गर्दै बजारमा सकारात्मक सन्देश दिनुपर्ने तथा संरचनात्मक सुधारलाई चरणबद्ध रूपमा लागू गर्न विज्ञहरूको सुझाव छ ।
आइतबार सेयर बजारको नेप्से परिसूचक १ सय ५ दशमलव ५० अंक घटेर २६ सय ७६ अंकमा कायम भएको छ । आइतबार मात्र ७ कम्पनीको मूल्य बढ्दा २६१ कम्पनीको मूल्यमा उच्च गिरावट आयो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको थियो । नयाँ सरकार गठनपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै सेयर बजारमा त्रास बढेको स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापति बताउँछन् । आइतबार १२ अर्ब ३८ करोड रूपैयाँको कारोबार भयो । सिंजापति भन्छन् ‘बजारको धेरै सेयर ठूला व्यवसायीले नै होल्ड गर्छन् । जब धरपकड हुन थाल्यो, त्यसले बजारमै एउटा त्रास बढेको देखिन्छ यति धेरै डराउनुपर्ने अवस्था होइन ।’ आइतबार बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा तथा व्यापार समुहको सेयरमा गिरावट आयो ।