
काठमाडौंः नवनिर्वाचित नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले रुग्ण ठेक्काहरूलाई वर्गीकरण गरेर अघि बढाउनुपर्ने बताएका छन् । सोमवार महासंघमा आयोजित शपथ तथा पदहस्तान्तरण कार्यक्रममा बोल्दै उनले स्रोत सुनिश्चितता हुँदा काम हुने आयोजनाहरुको म्याद थपेर जानुपर्ने बताए ।
अध्यक्ष पाण्डेले यो कुरा भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साललाई पनि बताएको जानकारी दिए । उनकाअनुसार यदि रुग्ण आयोजनाहरू अघि बढाउने सम्भावना भए अघि बढाउने भौतिक पूर्वाधार मन्त्रीले बताएका छन्, ठेक्का तोडेर कालोसूचीमा राख्ने पक्षमा मन्त्री नरहेको समेत पाण्डेले जानकारी दिए ।
अध्यक्ष पाण्डेले समयमै टुंगिनुपर्ने आयोजना नटुंग्याएर गल्ति गर्ने कर्मचारी वा निर्माण व्यवसायीलाई कारबाही गरिनुपर्छ । निर्माण व्यवसायी वा सरकारको कारणले काम भएन भने सोही अनुरुप कारबाही हुनुपर्ने उनको भनाइ छ ।
अध्यक्ष पाण्डेले अहिले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको उल्लेख गर्दै त्यसमा काम गर्न नसकिने बताए । यसबारे भौतिक पूर्वाधार मन्त्रीलाई समेत आफूले जानकारी गराएको उनले बताए । रुग्ण आयोजनाहरूको समस्या समाधान गर्न सरकार र व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताउँदै अब सरकारसँग आफूहरुले लबिङ गर्ने बताए ।