२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

ADV
मध्यान्ह
२०८१ साउन २० गते १८:११
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिम : सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा शाहलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ । 

यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीका लागि कांग्रेसभित्र दलका नेता शाहलगायत बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा र दिवानसिंह विष्ट आकांक्षी रहेका थिए । केन्द्रको निर्देशनअनुसार शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । 

शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी विसं २०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित भएका थिए । यसअघि विसं २०७९ माघ २७ गते नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका शाहले गत चैत्र २२ गते पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि बनेको नयाँ समीकरणअनुसार गएको वैशाख ६ गते एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बनेका थिए । फेरि केन्द्रमा कांग्रेस र एमालेसहितको सत्ता गठबन्धन बनेपछि अल्पमतमा परेका सोडारीले यही साउन १८ गते पदबाट राजीनामा दिएका थिए ।

सोही दिन मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखद्वारा आह्वान भएअनुसार आज दिउँसो शाहले दाबी पेस गरेका थिए । मुख्यमन्त्रीका लागि ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ । 

प्रदेश सभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise