मुकुन्द लामिछाने/मध्यान्ह
काठमाडौं : नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी चुनावको गठबन्धनबारे एकसाथ तीन विकल्प अगाडि बढाएको छ । पहिलो विकल्पमा भने अहिलेकै गठबन्धन जोगाउने रहेको देखिन्छ । गएको वर्ष शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी भएको पाँच दलीय गठबन्धन बनेको थियो ।
माओवादी केन्द्र र एकीकृत समाजवादी सहितको उक्त गठबन्धनले गएको स्थानीय चुनावमा तालमेल गरेको थियो । आगामी संघ र प्रदेशको चुनावमा पनि त्यही गठबन्धन कायम राख्नेबारे प्रधानमन्त्री देउवा सहित गठबन्धनका शीर्ष नेताहरुको लगातार छलफल चलिरहेको छ । दोस्रो विकल्पमा पनि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रयास जारी राखेका छन् । त्यो भनेको गठबन्धनभित्रै पनि समाजवादी केन्द्र निर्माण गर्ने हो ।
माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायत कम्युनिष्ट दलहरुको समाजवादी केन्द्र बनाउनेगरी प्रचण्डले नै पहल कदमी अगाडि बढाएका छन् । तेस्रो विकल्पका रुपमा भने वाम तालमेल रहेको देखिन्छ । ०७४ को चुनावमा वाम तालमेल भएको थियो । पछि एमाले र माओवादी केन्द्रबीच एकता नै भयो । तर दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता कायम रहन सकेन ।
फेरि आगामी चुनावमा पनि वाम तालमेलको समेत प्रयत्न भइरहेको छ । तर यो विकल्पमा भने दोस्रो तहका नेताहरु बढी सक्रिय छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले उनीहरुलाई साथ दिएका छन् । कांग्रेसले पनि विकल्पसहित छलफल गरिरहेको छ । पहिलो विकल्पमा अहिलेकै गठबन्धन जोगाउने देखिन्छ ।
कम्युनिष्टहरुलाई मिल्न नदिदा आफ्नो पार्टीले लाभ पाउने निष्कर्ष सहित गठबन्धन जोगाउन कांग्रेसभित्र एकमत छ । स्थानीय चुनावमा भने संस्थापन इतर नेताहरु गठबन्धनको विपक्षमा थिए । आगामी चुनावमा अहिलेको गठबन्धन नरहे त्रिपक्षीय प्रतिश्पर्धाको बातावरण निर्माण गर्ने कांग्रेसको चाहना देखिन्छ ।
प्रचण्ड र माधव नेपालले अलग चुनाव लडुन् भन्ने कांग्रेस नेताहरुको मनसाय देखिन्छ । तेस्रो विकल्प भने एक्लै लड्ने हो । विपक्षी दल नेकपा एमालेले पनि तीन वटै विकल्पमाथि छलफल गरिरहेको छ ।
स्थानीय चुनावमा जस्तै अहिलेको सत्ता गठबन्धनविरुद्ध चुनाव लड्नु एमालेको प्रष्ट देखिएको विकल्प छ । तर त्यसबाहेक पनि एमालेभित्र प्रयत्न भइरहेको छ । प्राथमिकतामा वाम तालमेल गर्ने, नभए सहयोग पुग्ने साना दलहरुसँग सहकार्य गर्ने पक्षमा एमाले देखिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies