२०८३ असोज २१ गते बुधवार / Oct 07 , 2026 , Wednesday
२०८३ असोज २१ गते बुधवार

बालेन-सुशीला सम्बन्धमा दरार

Nada
दिवाकर अधिकारी
२०८३ वैशाख २८ गते ०६:३०
Shares
बालेन-सुशीला सम्बन्धमा दरार

काठमाडौं : गत कात्तिक १४ गते सम्पादकहरूसँगको भेटमा तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले वालेन्द्र शाहबारे भनेकी थिइन्, ‘बालेनलाई मैले छोरो भन्छु, ऊचाहिँ दिदी भन्छ ।’ 

ncell

१३ वैशाखमा सरकार हस्तान्तरणमा पनि प्रधानमन्त्री वालेन्द्र शाह र कार्कीबीच उस्तै आत्मीयता देखिन्थ्यो । त्यसो त, जेनजी आन्दोलनपछिको तरल स्थितिमा कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा प्रस्ताव गर्ने उनै बालेन थिए । कार्की सिंहदरबारबाट बाहिरिएपछि भने उनीहरूको सम्बन्ध चिसिँदै गयो । २४ वैशाखमा संवैधानिक परिषद्ले वरिष्ठता मिचेर चौथो वरीयताका डा. मनोज शर्मालाई सिफारिस गरेपछि भने कार्की नराम्रोसँग बिच्किइन् । अहिले उनी प्रधानमन्त्री बालेनको सबैभन्दा चर्को आलोचक बनेकी छिन् ।  

कुनै बेला आफूलाई दिदी भन्दाभन्दै आमा बन्ने कार्कीको मोह अहिले भने भंग भएजस्तो छ । आफूलाई आमा भनेर सम्बोधन गर्दै प्रश्न सोध्ने एक सञ्चारकर्मीलाई उनको नमिठो जवाफ थियो, ‘तिमीहरूको आमा फेरिइसक्यो, अब बालेनको श्रीमतीलाई आमा भन्नू ।’ 

प्रधानन्यायाधीश सिफारिसपछि उनले बालेनप्रति आक्रोश पोखिरहेकी छिन् । उनकै शब्दमा खसीको ह्याकुलो छानेजसरी न्यायाधीश छान्नु गलत छ । ‘बालेन र रविमा न्यायपालिकासम्बन्धी ज्ञान रहेनछ । अलिकति त राख्नुपर्छ’ अनलाइन तथा मल्टिमिडियामा उनले चेतावनीको शैलीमा भनेकी छिन्, ‘उहाँहरू न्यायालयलाई सिंहदरबारभित्रै राख्न खोज्दै हुनुहुन्छ । यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ ।’

प्रधानमन्त्री बालेनविरुद्ध कार्की किन यो तहमा आलोचना उत्रिइन् ? न्यायालयको क्रमभंग मात्र त्यसको कारण नभएको निकटस्थ स्रोत बताउँछ । कार्कीलाई आफ्नो नेतृत्वमा चुनाव भएकाले बालेनको उदयमा आफ्नो हात रहेको भ्रम छ । केही मिडियामा उनले सोही आशयको अभिव्यक्ति पनि दिएकी छिन् । बालेन सचिवालय भने कार्कीले बालेनलाई नभई बालेनले अन्तरिम सरकारको प्रधानमन्त्री अस्वीकार गरेर कार्कीलाई समर्थन गरेको बताउँछ । 

सरकार बनेको दुई महिना नपुग्दै निवर्तमान प्रधानमन्त्री कार्की जसरी खनिएकी छिन्, त्यसले उनको चित्त दुखाई बुझाउँछ । पछिल्लो समय कार्कीले दोहोरो सुविधाबापत लिएको गाडी सरकारले फिर्ता तानेपछि उनी रिसाएकी हुन् । सार्वजनिक खपतका लागि ‘तेल धेरै खाने भएकाले फिर्ता गरेको’ अभिव्यक्ति दिए पनि खास कारण त्यो थिएन । 

त्यसो त, अन्तरिम सरकारको नेतृत्वमै हुँदा उनको बालेनसँग खटपट थियो । आफ्नो असहमतिबीच ओमप्रकाश अर्याललाई गृहमन्त्री नियुक्त गरेपछि बालेन–कार्कीबीच कुरा मिल्न छाडेको थियो । जेनजी आन्दोलनकारीका तर्फबाट सुधन गुरुङले अर्यालको राजीनामा माग्नुको अन्तर्य पनि त्यही रहेको विश्वस्त स्रोत बताउँछ । बालेन महानगरको मेयर हुँदा अर्याल उनका कानुनी सल्लाहकार थिए । जेनजी आन्दोलनपछि अन्तरिम सरकार बनाउन कानुनी परामर्श दिन शीतलनिवास पुगेका उनी कार्कीको रोजाइमा परेर गृहमन्त्री बनेका थिए । 

बालेनको उछितो काढ्ने क्रममा कार्कीले आफू प्रधानमन्त्री हुँदासमेत दिनहुँ धम्क्याइएको र मार्ने धम्की दिइएको खुलासा गरेकी छिन् । ‘बालेनको ग्रुपले दैनिक हप्काउँथ्यो,’ उनले भनेकी छिन् । 

प्रतिनिधिसभा चुनाव भइसकेपछि कार्कीले आफूनिकट व्यक्तिको व्यवस्थापन गर्न चाहेकी थिइन् ।  आफ्नै क्याबिनेटका गृहमन्त्री अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गरिन् । रोचक त के भने, मन्त्रिपरिषद्को सो निर्णय अर्याल स्वयंले पत्रकारसमक्ष सार्वजनिक गरेका थिए । कार्कीले आफ्नै स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्ति गरिन् । एक त जाँदाजाँदै गरिएका ती नियुक्ति र सिफारिस अशोभनीय थिए । त्यसमाथि श्रेष्ठले समाज कल्याण परिषद्को कानुनी सल्लाहकार बनेर दोहोरो सुविधा लिन खोजेको जानकारी पाएपछि बालेन रिसाए । अघिल्ला सरकारले गरेका नियुक्ति खारेज गर्ने सरकारको निर्णय उनी पदमुक्त भए । प्रधानमन्त्री बालेनसँग कार्की रिसाउनुको अर्को कारण यसलाई मानिएको छ ।  

ताजा खबर

सम्बन्धित खबर