२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विशेष बजार अनुगमनको तयारीमा वाणिज्य विभाग

ADV
छबि सापकोटा
२०८१ साउन २३ गते २१:११
विशेष बजार अनुगमनको तयारीमा वाणिज्य विभाग

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा बजारमा हुने कृत्रिम अभाव र कालोबजारीलाई रोक्न वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग विशेष अनुगमको लागि कार्ययोजना बनाउन थालेको छ ।  विभागले चाडपर्व लक्षित गरी विभिन्न टोली गठन गरेर विशेष बजार अनुगमनको तयारीबारे छलफल शुरु गरेको हो ।

चाडपर्व आउँदै गर्दा बजारमा अस्वभाविक रुपमा खाद्य वस्तुको मूल्य बढ्न शुरु भएको गुनासो बढेसँगै विभागले दैनिक अनुगमनलाई बढाएर विशेष बजार अनुगमन कार्ययोजना बनाउनेतर्फ केन्द्रित भएको हो । 

विभागका निर्देशक राजेश पाण्डेकाअनुसार अहिले निरन्तर चलिरहेको बजार अनुगन भइरहेको छ । उनले भने ‘चाडपर्व नजिकिदै गर्दा अगुमनको कार्यायोजना र तर्जुमा गर्ने काम भइरहेको छ, अहिलेपनि नियमित बजार अनुगमन जारी छ अब छिट्टै कार्ययोजना बनाएर अगाडी बढ्छौं’ ।

चाडपर्वमा दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वभाविक मूल्यवृद्धि हुने गरेको छ । पछिल्लो समय बजारमा अस्वाभाविक रुपमा खाद्य वस्तुको मूल्य बढीरहेको उपभोक्ताको भनाइ छ । काठमाडौंका खुद्रा तथा होससेल व्यवसायीहरुले दैनिक रुपमा प्रयोग हुने चामल, दाल, मसलाको मूल्य बढेको बताउँछन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले विगतदेखि नै चाडपर्वको बेला कृत्रिम मुल्यवृद्धि गराउने समूह नै सक्रिय हुने बताउँछन् । उनले भने ‘अहिले त चाडपर्व शुरु नहुँदै चामल, दाल, चिनी, तेल, लत्ताकपडा, तरकारी लगायतका वस्तुको मूल्य बढ्दो छ, आजको भोलि मूल्य फरक पर्न थालेको छ, नेपालीको घरमा चाडपर्वहरु भित्रिसकेका छन्, अब अत्यावश्यक वस्तुहरु बढाउने खेल शुरु हुनेछ, तर, सरकारले तयारी गरेको देखिँदैन ।’ 

यस्तै, राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिले चाडपर्व शुरु हुनु अगाडिदेखि नै दैनिक उपभोग्य वस्तु तथा सेवामा भएको अस्वाभाविक मूल्यवृद्धि प्रति ध्यानाकर्षण गरेको छ । समितिका सभापति सोनाम गेल्जेन शेर्पाले आमनागरिकको सहज पहुँच हुनेगरी तत्काल सुपथ मूल्य पसल सञ्चालनका लागि समय अवधि र क्षेत्रगत दायरा विस्तार गर्न निर्देशन दिएका छन् । यस्तै समितिले प्रत्येक पसलमा मूल्यसूची अनिवार्य राख्न र उपभोक्ता सचेतनाको कार्यक्रम गर्नका लागि सरकारलाई निर्देेशन समेत दिएको छ । 

यस्तै वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशक राजन पौडेलले चाडपर्व लक्षित गरी भारतबाट चिनी, चामल, गहुँ तथा प्याज आयातमा थप कोटाको व्यवस्था तथा निकासी महसुल छुट गरी आयात सहजीकरणका लागि कूटनीतिक पहल भइरहेको बताए । चाडपर्वको समयमा विचौलिया सक्रिय हुने हुँदा बजार अनुगमनको काम प्रभावकारी बनाउनु पर्नेमा सरकारवालाहरुले जोड दिएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise