
काठमाडौं : नेपाल वैदेशिक राेजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले पद बहाली गरेको छ । जेठ २५ गते सम्पन्न संघको विशेष साधारण सभाले डिकबहादुर खत्री 'कुमार'काे अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको थियो ।
बुधबार बिहान ७:३० बजेको शुभसाइतमा सिफलस्थित संघको कार्यालयमा धार्मिक विधिअनुसार पूजापाठ गरेर नवनिर्वाचित कार्यसमिति संघ प्रवेश गरेको हाे । त्यसलगत्तै संघका अध्यक्ष खत्रीसहित पदाधिकारी तथा सदस्यहरूले आ-आफ्नो कार्यकक्षमा पद बहाली गरे ।

पद बहालीपछि मध्यान्ह दैनिकसँगकाे कुराकानीमा अध्यक्ष खत्रीले समग्र वैदेशिक राेजथार क्षेत्रलाई सम्मानित महसुस हुने गरी काम गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए । 'कामदार र व्यवसायी हितको काम गर्नेछु,' नवनिर्वाचित अध्यक्ष खत्रीले भने ।'

वैदेशिक राेजगार क्षेत्रमा न्याय स्थापनाका लागि लागत परिभाषित गरेर नयाँ शुल्क ताेक्ने, त्यसपछि उजुरी लिने, गुनासो सुनुवाइ गरिनुपर्नेमा जाेड दिए । समस्या समाधानका लागि मेलमिलाप अनिवार्य शर्त हुनुपर्ने भन्दै अध्यक्ष खत्रीले वैदेशिक राेजगार विभागले मेलमिलाप र सहमतिकाे मर्मलाई आत्मसात गरेर हटाइएकाे मेलमिलाप केन्द्र स्थापना गरिनुपर्ने बताए । उनले भने, 'विगतमा मेलमिलाप केन्द्रबाट ३५ सय उजुरी फरफारक हुने गरेको थियो । अहिले मेलमिलाप केन्द्र हटाउने विषय दुर्भाग्यपूर्ण हाे ।'
त्यसैगरी अध्यक्ष खत्रीले सरकारले वैदेशिक राेजगार आवश्यक छ छैन पहिले स्पष्ट पारेर सरकारले काेरिया र इजरायल कामदार पठाउन गरिरहेकाे ऐजेन्टकाे काम छाेड्नुपर्ने पनि बताए ।

महासचिव हिराबहादुर डाँगीले आफ्नो पदीय जिम्मेवारी अनुसार कार्यालयलाई व्यवस्थित बनाएर विगत लामाेसमयदेखि थाती रहेका समस्याको समाधानमा केन्द्रित हुने बताए ।
संघको प्रथम उपाध्यक्षमा महेश बस्नेत, द्वितीय उपाध्यक्षमा अनिल बोगटीले, तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल, महासचिवमा हिरा बहादुर डाँगी, सचिवमा केदारनाथ अधिकारी र कोषाध्यक्षमा धनमाया सिन्जाली निर्वाचित भएका थिए ।

कार्यसमिति सदस्यमा रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवश ढुंगाना (दीपक), दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत निर्वाचित भएका थिए । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिले विघटित प्रबन्ध समिति तथा निर्वाचन समितिका पदाधिकारीलाई दाेसल्ला ओढाएर सम्मानपत्रसहित सम्म्मान गरेको थियो ।


