२०८३ मंसिर ९ गते बुधवार / Nov 25 , 2026 , Wednesday
२०८३ मंसिर ९ गते बुधवार

मलेसियाको मागपत्रमा विभागको आनाकानी

Nada
२०८३ मंसिर ९ गते ०६:१५
Shares
मलेसियाको मागपत्रमा विभागको आनाकानी

काठमाडौं : मलेसियाबाट प्राप्त मागपत्रमा पूर्व तथा अन्तिम स्वीकृति दिन वैदेशिक रोजगार विभागले आनाकानी गरेको गुनासो बढेको छ ।

मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस)मा २५ मुख्य र २५० सहायक गरी २७५ नेपाली म्यानपावर कम्पनी दर्ता भएपछि विभागले ती म्यानपावर कम्पनीमाथि अनुसन्धान गर्न भन्दै उनीहरूको मागपत्रमा पूर्वस्वीकृतिका लागि आवेदन पेस हुनै नदिने नीति लिएको छ । विभागले एलटी बन्द नगरी उनीहरूको सिस्टममा मलेसियाको पूर्वस्वीकृतिका लागि फाइल पेस गर्न नमिल्ने बनाएको छ ।

मलेसियाको एफडब्लुसिएमएसमा २५ मुख्य र २५० सहायक गरी २७५ नेपाली म्यानपावर कम्पनी दर्ता भएपछि मलेसियाको नयाँ रोजगारी प्रभावित भएको हो । हाल विभागले ती २७५ कम्पनीबाहेकका म्यानपावर कम्पनीहरूले पूर्वस्वीकृतिका लागि पेस गरेका फाइलमा स्वीकृति दिन अनिच्छा देखाएको व्यवसायीको गुनासो छ ।

मलेसियाबाट नेपाल आउने मागपत्र र त्यससँग सम्बन्धित कागजातको अवधि दुई वर्षको हुन्छ । मागपत्रको पूर्वस्वीकृतिको अवधि बाँकी रहेकाले ‘अहिले किन पेस गर्नुपर्‍यो’ भन्दै फाइल स्वीकृत गर्न आनाकानी गर्ने गरिएको व्यवसायीहरूले बताएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विभाग समन्वय समितिका संयोजक तथा संघका तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले विभागले मलेसिया रोजगारीको प्रकृति नबुझ्दा समस्या बढेको बताए । मंगलबार मात्रै करिब एक दर्जन व्यवसायीले आफूसँग गुनासो गरेको भन्दै आफूले यस विषयमा महानिर्देशक नवराज ढकाल र निर्देशकहरूसँग रातोपिरोको शैलीमा छलफल गर्नुपरेको उनले बताए ।

मलेसियामा हाल प्लान्टेसन, म्यानुफ्याक्चरिङ, कन्स्ट्रक्सन र सेवा क्षेत्रले विदेशी श्रमिकको चरम अभाव झेलिरहेका छन् । रोजगारदाताले तत्कालै श्रमिक पठाउन नेपाली म्यानपावर व्यवसायीलाई दबाब दिने गरेका छन् । तर, विभागका कर्मचारीले मलेसियामा नयाँ श्रमिक पठाउने प्रक्रियाको निरन्तरतालाई नबुझेको जस्तो गर्दा पुरानो मागपत्र रहेका व्यवसायी समस्यामा परेको बताउँछन् ।

विभागले क्यासलेस, फेसलेस र पेपरलेसका आधारमा पूर्णरूपमा अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगार प्रशासन सञ्चालन गरिरहेको बताएको छ । तर, व्यवसायीहरू भने व्यवसाय अनलाइन भनिए पनि लाइन लाग्नुपर्ने बाध्यता रहेको बताउँछन् ।

laxmi recruitement

सम्बन्धित खबर