
काठमाडौँ : मलेसिया जाने नेपाली कामदारसँग स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा रकम असुलेको प्रकरणमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहितका आरोपीलाई अदालतले थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौँले पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहितका प्रतिवादीलाई मंगलबार थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई अनुमति दिएको हो ।
अनुसन्धानअनुसार मलेसिया जाने कामदारसँग गैरकानुनी रूपमा ‘बायोमेडिकल सर्भिस शुल्क’ का नाममा म्याक्रोटेक प्रालिले रकम असुल्दै आएको थियो । मेडिकल स्क्रिनिङको बहानामा अतिरिक्त स्वास्थ्य परीक्षण गर्न बाध्य पारेर कामदारबाट रकम संकलन गरिएको आरोप छ ।
यसरी असुल गरिएको १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ मलेसिया पठाउन चार पटक मन्त्रीस्तरीय निर्णय भएको अनुसन्धानबाट खुलेको छ। उक्त निर्णय तत्कालीन श्रममन्त्रीद्वय रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँका ३६ वटा मेडिकल संस्थालाई तोकिएको थियो ।
यस प्रकरणमा सुरुमा कागेश्वरी मनोहरा नगरपालिका–१ का ४२ वर्षीय कैलाश खड्का, भक्तपुरको चाँगुनारायण नगरपालिका–९ का ४० वर्षीय रवीन्द्र केसी, गोरखा घर भई टोखा नगरपालिका–११ बस्ने ४२ वर्षीय प्रवीण तिवारी र सर्लाही घर भई गोकर्णेश्वर नगरपालिका–६ बस्दै आएका ४५ वर्षीय रामपुकार तिवारी पक्राउ परेका थिए ।
त्यसपछि मंसिर २ गते पूर्वमन्त्रीसहित थप ६ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा पूर्वमन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, यातायात विभागका महानिर्देशक राजीव पोखरेल, पूर्वसचिव विनोद केसी, तत्कालीन सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङ रहेका छन् ।सीआईबीले उनीहरूमाथि ठगीसम्बन्धी कसुर तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानका अनुसार २०७५ सालको अन्त्यतिरदेखि मलेसिया जाने कामदारसँग प्रतिव्यक्ति १०० मलेसियन रिङ्गिटका दरले रकम असुल गरिएको थियो । त्यसबेलाको विनिमय दरअनुसार एक जना कामदारबाट नेपाली ३ हजार १६० रुपैयाँ असुल गरिएको थियो । स्वास्थ्य परीक्षणको नाममा कामदारबाट ठूलो रकम असुलिएको यस प्रकरणमा संलग्न व्यक्तिहरूमाथि सीआईबीले थप अनुसन्धान गरिरहेको छ ।