
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष एवं अग्रज वैदेशिक रोजगार व्यवसायीहरूले संघको नवनिर्वाचित नेतृत्वलाई तत्काल व्यवसायीका समस्या समाधानमा केन्द्रित हुन सुझाव दिएका छन् ।
संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको सम्मानमा निर्वाचन परिचालन मूल समिति तथा निर्वाचन मूल आयोजक समितिद्वारा बिहीबार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पूर्वअध्यक्षहरूले उक्त सुझाव दिएका हुन् ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष प्रेमबहादुर कटुवालले संघमा निर्वाचित भइसकेपछि ठुलो जिम्मेवारी महसुस गर्दै पराजित पक्षलाई समेत समेटेर उत्कृष्ट परिणाम निकाल्न तत्कालैदेखि लाग्न सुझाव दिए ।
पूर्वअध्यक्ष कटुवालले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर स्वदेश फर्किनुअघि नै मन्त्रालयका सचिवसँग समन्वय गरेर वैदेशिक रोजगारमा जाने कामदारको सेवाशुल्क परिमार्जन, लागत ब्रेकडाउनलगायत गर्नुपर्ने महत्वपूर्ण कार्यविधिका काम अघि बढाउन आग्रह गरे । मन्त्री यादवको विदेश भ्रमणअघि नै सेवाशुल्क परिमार्जनको गृहकार्य भएको भन्दै त्यसमा संघको नेतृत्व चुक्न नहुने अवस्था रहेको पनि उनले बताए ।
कूटनीतिक नियोग नभएका युरोपेली मुलुकका मागपत्र प्रमाणीकरणको समस्यादेखि भिएफएसमा कामदारले भोग्नुपरेका समस्याबारे प्रधानमन्त्री कार्यालयबाट चासो प्रकट भएको अवस्थामा कूटनीतिक माध्यमबाट समस्याको निराकरण हुनुपर्ने भन्दै त्यसमा पनि काम गर्न उनले सुझाव दिए ।
पूर्वअध्यक्ष कटुवालले संघको नेतृत्वले मुख्यगरी मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, प्रहरी र सञ्चारकर्मी गरी पाँच पक्षसँग जीवन्त समन्वय गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्वअध्यक्ष एवं प्रबन्ध समिति संयोजक राजेन्द्र भण्डारीले सुधारका पक्षमा व्यवसायीको आकांक्षा उच्च रहेको अहिलेको अवस्थामा पराजितहरुलाई पनि साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालका नकारात्मक टिप्पणीमा क्रिया–प्रतिक्रियामा नलाग्न नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सुझाव दिए ।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र संघसंस्थालाई एकै टेबलमा ल्याएर नेपालको वैदेशिक रोजगारको नीतिगत सुधारका लागि समन्वय गर्न आग्रह गरे । बदलिएको परिवेशअनुसार संघलाई प्राविधिक रूपमा चुस्त बनाउन पनि उनले नेतृत्वको ध्यानाकर्षण गराए ।
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष जनक रावलले निर्वाचनपछि संघको नेतृत्व सबै व्यवसायीको साझा संस्था भएको भन्दै व्यवसायीका समस्या समाधानका लागि चुनावी प्रतिबद्धताअनुसार परिणाम आउने गरी काम गर्न नेतृत्वसँग आग्रह गरे ।
युरोपेली मुलुकका मागपत्र प्रमाणीकरणमा सहजीकरण गर्नुपर्ने, सेवाशुल्क व्यवस्थापन गर्नुपर्नेलगायतका विषयमा लामो समयदेखि समस्या समाधान नहुँदा व्यवसायी समस्यामा रहेको भन्दै यी समस्या समाधानका लागि नयाँ नेतृत्व अनवरत रूपमा लाग्ने व्यवसायीहरूको साझा अपेक्षा रहेको उनले बताए । उनले समस्या समाधानका लागि मञ्चले निरन्तर सल्लाह–सुझाव प्रदान गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले आफ्नो प्यानल विजयी भए पनि संघ सम्पूर्ण व्यवसायीहरूको साझा संस्था भएको बताउँदै सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको हितमा काम गर्ने उत्साहलाई नकारात्मक प्रभाव पार्ने गतिविधिबाट टाढा रहन व्यवसायीलाई आग्रह गर्दै शुक्रबारदेखि समस्या समाधानका काममा केन्द्रित हुने भएकाले खादा र मालाका लागि भौतिक रूपमा उपस्थित नहुने जानकारी दिए ।
अध्यक्ष खत्रीले सरकारसँग समन्वय गरी वैदेशिक रोजगार क्षेत्रका नीति–नियम सुधार तथा ऐन संशोधनका विषयमा पहल गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको बताए । ‘वैदेशिक रोजगार क्षेत्रलाई सम्मानित पेसाका रूपमा स्थापित गर्दै पुस्तान्तरण गर्न आवश्यक छ । केही प्राप्तिका लागि केही त्याग गर्नुपर्छ,’ उनले भने । सुधारका लागि प्राप्त हुने सकारात्मक सुझाव र सल्लाहलाई उच्च सम्मानका साथ ग्रहण गरिने पनि उनको भनाइ थियो ।
निर्वाचन मूल समितिका संयोजक नरेश गेलालले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गरी ठोस उपलब्धि हासिल गर्न आग्रह गरे । निर्वाचनपछि सबै पक्षलाई समेटेर साझा रूपमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्वागत मन्तव्य राख्दै नेपाल बैदेशिक रोजगार ब्यवसायी गणतान्त्रिक मंचका महासचिव कुन्छा दोर्जे डिम्डोङले निर्वाचित व्यवसायीले संघलाई व्यक्तिगत स्वार्थ पूर्तिको भ¥याङ नभई सबैलाई जोड्ने भरपर्दो पुलका रूपमा काम गर्नुपर्ने धारणा राखे ।
अन्तर्राष्ट्रिय आप्रवासी संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, जापान रोजगार मेला आयोजना, कामदार ठग्ने ‘जान’ भन्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्था खारेजी, केही नेपाल ऐन संशोधनलगायतका आफ्नो कार्यकालमा सम्पन्न भएका महत्वपूर्ण कार्यहरूको विवरण प्रस्तुत गर्दै संघका निवर्तमान सचिवसमेत रहेका डिम्डोङले प्रगतिशील तथा गणतान्त्रिक मञ्चसहितको संयुक्त व्यवसायी समूहको सहकार्यले सम्पूर्ण व्यवसायीहरूको एकता, विश्वास र परिवर्तनको चाहनाको जित भएको बताए ।

निर्वाचन सफलताका लागि प्रबन्ध समिति र समग्र संघको नेतृत्व तथा कार्यशैली परिवर्तनका निम्ति वरिष्ठ व्यवसायी तथा तत्कालीन सल्लाहकार नवराज केसी र गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी धन्यवादका पात्र भएको उनले बताए ।
उनले भने, ‘तत्कालीन नेतृत्वको अकर्मण्यताले संघ ग्रस्त थियो । व्यवसायी निराश अवस्थामा थिए । वरिष्ठ व्यवसायी केसीले नजिकबाट व्यवसाय र व्यवसायीहरूको पीडा, निराशा, उपेक्षा तथा संघको निष्क्रिय अवस्थालाई नियाल्नुभयो । व्यवसायीहरू निर्णयहीनताको बन्दी बनेको अवस्थामा उहाँले व्यवसाय रक्षाका लागि नेतृत्व परिवर्तनको पक्षमा उभिने साहसी निर्णय गर्नुभयो । त्यसैको परिणामस्वरूप आजको परिवर्तन सम्भव भएको हो । त्यसैले उहाँहरू धन्यवादका पात्र हुनुहुन्छ ।’
उनले व्यवसायी केसीको साहसिक कदममा मञ्चका अध्यक्ष धनलाल जैसीले दिएको साथ र दूरदृष्टिलाई वैदेशिक रोजगारको इतिहासले लामो समयसम्म सम्झिरहने बताए । निर्वाचन परिणामलाई विजयी पदाधिकारी तथा सदस्यहरूले अन्तिम लक्ष्य प्राप्ति गरेको नभई जिम्मेवारीको सुरुवात मात्र भएको महसुस गर्नुपर्ने भन्दै व्यवसायीहरूको विश्वास जितेर कामदारहरूको अधिकारको रक्षामा काम गरे मात्र नयाँ कार्यसमितिले वैदेशिक रोजगार क्षेत्रको गरिमा बढाउन सक्ने बताए ।
कार्यक्रममा निर्वाचन परिचालन मूल समितिका संयोजकद्वय नवराज केसी र रघुनाथ पुरी, वरिष्ठ व्यवसायी हेमबहादुर गुरुङ, प्रगतिशील मञ्चका संस्थापक अध्यक्ष सरोजकुमार पोखरेल, गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसी, लोकतान्त्रिक एशोसिएशनका का.वा महासचिव तुलसी पुरी, प्रबन्ध समिति सदस्य विनोदजंग केसी, मधुकर रिजाल, सोमबहादुर तामाङ लो, वरिष्ठ अधिवक्ताद्वय शम्भु निरौला र देवराज कटुवाललगायतको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा संघका प्रथम उपाध्यक्ष महेश बस्नेत, द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव हरि डाँगी, सचिव केदारनाथ अधिकारी तथा कोषाध्यक्ष धनमाया सिन्जाली तथा कार्यसमिति सदस्यहरू रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवश ढुंगाना (दीपक), दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउतको उपस्थिति थियो । सो अवसरमा उनीहरूलाई खादा र मालाले सम्मान गरिएको थियो ।