२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

संघ प्रतिनिधिमण्डल मन्त्रालय र विभागमा

वैदेशिक रोजगारका क्षेत्रमा सिर्जित नीतिगत तथा व्यावहारिक समस्या समाधानको पहल सुरु

Nada
२०८३ जेठ ३० गते ०६:२०
Shares
संघ प्रतिनिधिमण्डल मन्त्रालय र विभागमा

काठमाडौं : नेपाल वैदैशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिले वैदेशिक रोजगारका क्षेत्रमा सिर्जित नीतिगत तथा व्यावहारिक समस्या समाधानको पहल सुरु गरेको छ । संघको नवनिर्वाचित कार्यसमितिले शुक्रबार युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्ले र वैदेशिक रोजगार विभागकी महानिर्देशक मिरा आचार्यलाई छुट्टाछुट्टै भेटेर वैदेशिक रोजगार क्षेत्रमा रहेका नीतिगत तथा व्यावहारिक समस्या समाधानका लागि ध्यानाकर्षण गराएको हो ।

ncell

संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा गएको व्यवसायीको प्रतिनिधिमण्डले सचिव डा. काफ्लेसँग सेवाशुल्क तथा वैदेशिक रोजगार ऐन संशोधनका विषयमा र महानिर्देशक आचार्यलाई संस्थागत उजुरीका सुनुवाइका सम्बन्धमा विभागले अपनाउने शैलीका बारेमा ध्यानाकर्षण गराएको हो ।

महानिर्देशक आचार्यसँगको भेटपछि संघका अध्यक्ष खत्रीले व्यावहारिक समस्याहरूमाथि गम्भीर छलफल गरेको भन्दै चरणबद्धरूपमा समस्या समाधान हुने अपेक्षा गरिएको बताए । छलफलमा विभागकी महानिर्देशक, निर्देशक तथा केही शाखाका प्रमुखहरूको सहभागिता रहेको थियो । अध्यक्ष खत्रीले केही व्यवसायीको व्यवहारका कारण विभाग असन्तुष्ट रहेको देखिएको भन्दै त्यसमा स्थिति समान्यीकरण गरिएको बताए ।

विभागमा वैदेशिक रोजगारबाट फर्केका कामदारको उजुरी पर्ने र त्यसलाई समाधान गर्ने विषयमा पछिल्ला दिनहरूमा व्यवसायी र विभागको दृष्टिकोण फरकफरक देखिएको छ । कामदार आफ्नो निजी कारणबाट स्वदेश फर्केर म्यानपावर कम्पनीसँग मेलमिलापको माध्यमबाट समस्या समाधान गर्न तयार भएको अवस्थामा पनि विभागका कर्मचारीले ठुलो रकम माग गर्न वा सहमतिमा नआउन भड्काउने गरेको व्यवसायीहरूले दाबी गर्दै आएका छन् । विभागले भने व्यवसायीमा कामदारप्रतिको जिम्मेवारीबाट भाग्ने, अलमलमा पार्ने र विभागलाई नै नटेर्ने गलत रवैया रहेको बताएको छ ।

शुक्रबारको छलफलपछि आपसी अविश्वास हटाउने विषयमा सकारात्मक वातावरण बनेको अध्यक्ष खत्रीले बताए । मूल समस्या वैदेशिक रोजगार ऐन र २०७२ सालदेखि लागू भएको ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था रहेको भन्दै अध्यक्ष खत्रीले त्यसलाई परिमार्जन नगरी ऐनमात्रै कार्यान्वयन हुनुपर्छ भन्ने विभागको दृष्टिकोण रहेको अवस्थामा व्यवसायीका अगाडि व्यवसाय बन्द गर्नुको विकल्प बाँकी नरहने बताए ।

कानुन र नीति सरकारलाई सजिलोका लागि नभएर कामदार र व्यवसायीमैत्रीपूर्ण हुनुपर्ने भन्दै अध्यक्ष खत्रीले आगामी आइतबार वैदेशिक रोजगार ऐन संशोधनका लागि उच्चस्तरीय बैठक राखिएको र व्यवसायीका समस्या समाधानका लागि ऐनमार्फत पहल हुने बताए । अध्यक्ष खत्रीले अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत विभागमा लामो समयदेखि गुनासो सुनुवाइको असल प्रचलन रहेको र त्यसले विगतमा ३ हजार ७ सय उजुरीको छिनोफानो गरेकाले आगामी दिनमा मेलमिलापको माध्यमबाट गुनासो सुनुवाइको असल अभ्यासलाई निरन्तरता दिइने बताए ।

संघद्वारा गठित विभाग समस्या समाधान समितिका संयोजक एवं तृतीय उपाध्यक्ष लक्ष्मण पौडेलले पनि शुक्रबारको छलफल सकारात्मक भएको भन्दै व्यवसायीले राखेका माग सकेसम्म छिटो समाधान हुने र अनुचित रूपमा पुर्जी काट्ने, तारन्तार फोन गर्ने र धरपकड गर्ने क्रम रोकिने अपेक्षा बढेको बताए । उनले समस्या सिर्जना भएको अवस्थामा तत्कालै समाधानका लागि व्यवसायीले पहल गर्नु आवश्यक देखिएको पनि बताए ।

छललफमा संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारीसहित द्वितीय उपाध्यक्ष अनिल बोगटी, महासचिव हरि डाँगी, सचिव केदारनाथ अधिकारी, कोषाध्यक्ष धनमाया सिन्जाली तथा कार्यसमिति सदस्यहरू रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, विवश ढुंगाना (दीपक), दीक्षा थपलिया, बाबुराम न्यौपाने र गीता राउत सहभागी भएका थिए ।

तृतीय उपाध्यक्ष पौडेलले सचिव डा. काफ्लेसँगको छलफलमा सेवाशुल्क निर्धारणका लागि बनेको समितिमा संघको प्रतिनिधि समावेश गराउन ध्यानाकर्षण पत्र बुझाइएको मध्यान्ह दैनिकलाई जानकारी दिए । त्यस्तै महानिर्देशक आचार्यलाई विभागअन्तर्गत रहेको गुनासो सुनुवाइ संयन्त्रको मेलमिलाप कक्ष पुनस्र्थापनाका लागि सहजीकरण गर्न पत्र बुझाएको भन्दै उनले दुवै निकायबाट सकारात्मक आश्वासन प्राप्त भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर