
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको निर्वाचनसहितको १३औं साधारण सभा असार ५ गते गर्ने गरी तयारी भइरहेको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको गत साता मात्रै निर्वाचन भएकाले एसोसिएसनको साधारण सभा केही समय सार्ने विषयमा चर्चा भएपनि असार ५ गते साधारण सभा गर्ने पुरानो सूचना परिवर्तन नभएकाले सोही मितिमै निर्वाचनसहितको साधारण सभा हुने बताइएको छ ।
एसोसिएसनका अध्यक्ष दीपक थापाले साधारण सभा तोकिएकै मितिमा हुने बताए । एसोसिएसनमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष गरी ८ पदाधिकारी र १० सदस्य गरी कार्यसमितिमा १९ जनाको निर्वाचन हुनेछ । ४ जना कार्यसमिति सदस्य भने निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।
एसोसिएसनमा निर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको हुने व्यवस्था रहेको छ । अध्यक्षका लागि रामप्रसाद गैरे, सेमन्त न्यौपाने, किशोर केसी, भवानी निरौला र विनोदजंग केसीले दाबी गरिरहेका छन् ।
उपाध्यक्षमा शिव कार्की, विक्रम श्रेष्ठ, नारायण भुसाल, भेष केसी, चिरञ्जीवी बस्याललगायतले इच्छा देखाएको बताइएको छ ।
अघिल्लो निर्वाचनमा अध्यक्षका लागि दीपक थापा, तारानाथ अर्याल र चिरञ्जिवी बस्याल चुनावी मैदानमा उत्रिएका थिए ।
अध्यक्ष थापाले आफू नदोहोरिने बताउँदै निर्वाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरी बिदा हुने तयारीमा रहेको जानकारी दिए ।
साधारण सभाले दुईवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै कार्यसमितिको तर्फबाट प्रस्तुत गर्ने प्रगति विवरण र एसोसिएसनबाट भएका कार्यहरू उल्लेख गरिएको प्रतिवेदन, पछिल्ला दुई आर्थिक वर्षको आयव्ययको विवरणसहितको वासलात पारित गर्ने छ ।