
काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका अध्यक्ष दीपक थापाले आगामी नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास गर्न सबै व्यवसायीलाई आह्वान गरेका छन् ।
एसोसिएसनको निर्वाचनसहितको १३औं साधारण सभा असार ५ गतेका लागि तय गरिएको छ । साधारण सभामार्फत आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ ।
अध्यक्ष थापाले वर्तमान परिस्थितिमा लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीबीचको एकता सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै नेतृत्व चयनमा सहमति र सहकार्यको वातावरण बनाउन आग्रह गरेका छन् । उनले सर्वसम्मत रूपमा जुनसुकै उम्मेदवारको नाममा सहमति जुटे पनि आफूले पूर्ण समर्थन गर्ने मध्यान्हलाई बताए ।
उनका अनुसार सर्वसम्मति हुन नसके लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन प्रक्रियालाई सबैले स्वीकार गर्नुपर्नेछ । चुनाव हुनुलाई अस्वाभाविक रूपमा नलिनुपर्ने उल्लेख गर्दै उनले सकेसम्म सहमतिमै नेतृत्व चयन हुनु एसोसिएसन र व्यवसायी समुदायका लागि सकारात्मक हुने धारणा राखे ।
अध्यक्षका आकाक्षी धेरै देखिपछि अध्यक्ष थापा सहमतिका लागि प्रयासमा जुटेका हुन् । एसोसिएसनले वैदेशिक राेजगार क्षेत्रमा आफूलाई धेरै सदस्य भएकाे ठुलो संस्थाकाे रूपमा दाबी गर्दै आएकाे छ । तर आन्तरिक एकताको अभावमा नेपाल वैदेशिक राेजगार व्यवसायी संघको निर्वाचनमा सफलता हासिल गर्न सकेको छैन । संघको गत निर्वाचनमा एसोसिएसनले प्रस्तावित १७ उम्मेदवारमध्ये तृतीय उपाध्यक्ष र दुई सदस्य मात्रैमा चित्त बुझाउनुपरेको थियो । यस पटक सहमति नभएको अवस्थामा गुट उपगुट थप झाँगिएर संस्था थिलाेथिलाे हुने भन्दै अध्यक्ष थापाले आकांक्षीहरूलाई सहमतिमा ल्याउने प्रयत्न गरिरहेकाे बताइएकाे छ ।
अध्यक्षका लागि रामप्रसाद गैरे, थीरमणी पाैडेल, सेमन्त न्याैपाने, किशोर केसी, चिरञ्जीवी बस्याल, भवानी निराैला र विनाेदजंग केसीलगायतको दाबी छ । अन्य केही खुल्न बाँकी रहेको बताइएकाे छ । उपाध्यक्षमा शिव कार्की, विक्रम श्रेष्ठ, नारायण भुसाल, भेष केसीलगायतले इच्छा देखाएको बताइएकाे छ ।
एसोसिएसनले प्रतिनिधि पठाउने समयसीमा असार २ गते मंगलबार साँझ ५ बजेसम्म तोकेको छ । हाल नेपाली कांग्रेस निकट विभिन्न वैदेशिक रोजगार व्यवसायी संस्थाहरूले सदस्यता नवीकरण गर्ने तथा प्रतिनिधि पठाउने कार्यलाई तीव्रता दिएका छन् । एसोसिएसनका अनुसार प्रतिनिधिहरू आउने क्रम जारी छ ।
निर्वाचनबाट अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित ८ पदाधिकारी तथा १० सदस्य गरी १९ सदस्यीय कार्यसमिति चयन हुनेछ । यसबाहेक निर्वाचित अध्यक्षले ४ जना कार्यसमिति सदस्य मनोनयन गर्ने व्यवस्था छ ।
एसोसिएसनको कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ । नयाँ नेतृत्वका लागि विभिन्न व्यवसायीहरूको नाम चर्चामा आउन थालेका छन् । यसअघि पनि एसोसिएसनमा प्यानलगत प्रतिस्पर्धामार्फत निर्वाचन भएको इतिहास रहेको छ ।
साधारण सभाले नयाँ नेतृत्व चयनसँगै कार्यसमितिले प्रस्तुत गर्ने प्रगति प्रतिवेदन, एसोसिएसनले गरेका गतिविधिको विवरण तथा पछिल्ला दुई आर्थिक वर्षको आयव्यय विवरणसहितको वासलातसमेत पारित गर्ने कार्यक्रम रहेको छ ।