२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

साउदी एसभिपीविरुद्व एसोसिएसन कठोर  

Nada
२०८३ असार ९ गते ०८:१३
Shares
साउदी एसभिपीविरुद्व एसोसिएसन कठोर  

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नवनिर्वाचित कार्यसमितिले पद बहाली गरी कार्य प्रारम्भ गरेको छ । सोमबार बिहान धार्मिक विधिअनुसार पूजापाठ गरी नयाँ बानेश्वरस्थित एसोसिएसनको कार्यालयमा पद बहाली गरेको हो । त्यसक्रममा निवर्तमान अध्यक्ष दीपक थापाले नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरेलाई संस्थाको माइन्युट हस्तान्तरण गरे ।

ncell

पद बहाली गर्दै नवनिर्वाचित अध्यक्ष गैरेले लोकतान्त्रिक एसोसिएसनभित्र गलत प्रवृत्तिका मान्छे हाबी हुन नदिने प्रतिबद्धता जनाए । वैदेशिक रोजगारमा साउदी अरेबिया जाने कामदारको सीप परीक्षणका लागि खडा हुन खोजेको ‘स्किल भेरिफिकेसन प्रोग्राम’ खारेजीका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अघि बढाउने आन्दोलनलाई साथ दिने उनले बताए ।

एसोसिएसनको पहिलो बैठकले स्किल भेरिफिकेसन प्रोग्राम खारेजीका लागि सम्बन्धित पक्षलाई दबाब दिने निर्णय गरेको छ । संघले आफ्नो जिम्मेवारी पूरा नगरे एसोसिएसनको नेतृत्वमा संघको प्रतिवाद गर्ने समेत अध्यक्ष गैरेले बताए । एसोसिएसनमा योगदान गरेका, तर निर्वाचनको प्रतिस्पर्धामा छुटेका व्यवसायीलाई विभिन्न जिम्मेवारीमा समेटेर अगाडि बढाएर एकतालाई सबल बनाउने उनले बताए । 

उनले संस्थागत निर्णय नमान्ने, अनुशासन उल्लंघन गरी जथाभावी गर्नेलाई निवर्तमान अध्यक्ष थापाले अंगीकार गरेकोे शून्य सहनशीलताको नीति आफूले पनि अनुसरण गर्ने प्रतिबद्धता जनाए । आफू बिपी कोइरालाको अनुयायी भएको भन्दै उनले फरक विचार र रचनात्मक आलोचना सदैव स्वीकार गर्ने बताए । आलोचना स्विकार्ने, तर अनुशासन पालनामा कुनै मोलाहिजा नगरिने उनले दोहो¥याए ।  

एसोसिएसनको १३औं साधारणसभापछिको निर्वाचनबाट अध्यक्षमा गैरे अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा सुवर्ण लामा, द्वितीय उपाध्यक्षमा हर्कबहादुर लिम्बू, तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी, महासचिवमा सुमनराज पाण्डे, सचिवमा हिमा गुरुङ, सहसचिवमा जगतबहादुर गुरुङ, कोषाध्यक्षमा भीममाया कार्की (कल्पना) र सहकोषाध्यक्षमा कैलाश पाठक निर्वाचित भएका छन् । 

कार्यसमिति सदस्यमा विष्णुप्रसाद सापकोटा, नवीन क्षेत्री  पौडेल,    युवराज खतिवडा, ओमप्रकाश शिवाकोटी, उर्मिला लामा, शेरबहादुर गुर्माछान, राजेश मैनाली, विक्रम खतिवडा, पुण्यकुमार श्रेष्ठ र मिलन पौख्रेल विजयी बनेका छन् । 

पद बहाली कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यसहित संघका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, पूर्वमहासचिव मेघनाथ भुर्तेललगायत पूर्व तथा निवर्तमान पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य उपस्थिति रहेकोे महासचिव सुमनराज पाण्डेले जानकारी दिए ।

ताजा खबर

सम्बन्धित खबर