२०८१ मंसिर ७ गते शुक्रवार / Nov 22 , 2024 , Friday
२०८१ मंसिर ७ गते शुक्रवार

संस्कृतका आचार्य दमाई र विश्वकर्मा

ADV
जानकी पाठक
२०८१ साउन २७ गते ०६:४०
संस्कृतका आचार्य दमाई र विश्वकर्मा

काठमाडौं : संस्कृतमा स्नातकोत्तर गरेका कृष्ण दमाई र लेखबहादुर विश्वकर्मा पशुपतिमा जारी कोटीहोम महायज्ञमा प्रवचन दिएपछि चर्चामा आएका छन् । 

संस्कृत शास्त्रको अध्ययन जातका आधारमा मात्र गर्न पाइने सामाजिक मान्यता तोड्दै उनीहरूले मुलुककै ठूलो धार्मिक पीठमा प्रवचन दिएपछि  चर्चामा आएका हुन् । 

उनीहरूलाई श्रीमद्भागवत कथा पुराण प्रवक्ता बालयोगेश्वर विजय कृष्णमुर्तीले फूल मालासहित दोसल्ला ओढाएर अभिनन्दन गरेका थिए । नेपाल संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य गर्ने दलित समुदायका प्रथम आचार्य हुन्, कृष्ण दमाई । दलित माथि हुने सामाजिक विभेदलाई चुनौती दिनकै लागि संस्कृत बिषय लिएर अध्ययन गरेको उनी बताउँछन् । 

शुरूमा संस्कृत विषय पढ्दाखेरि कतिपयले जिस्काउने गरेको सम्झदै उनी भन्छन् ‘जसरी पनि म संस्कृत पढ्छु भन्ने थियो, मैले पढे, शास्त्रमा जातभन्दा कर्मलाई महत्व दिएको छ, कर्म गर्न जात बाधक बन्नु हुँदैन ।’ 

पशुपतिमा कोटीहोम महायज्ञ शुरू भएदेखि नै कृष्ण दमाईको चर्चा हुन थालेको थियो ।  हिन्दु धर्ममाथि लागेको जातीय कलंक मेटाउनुपर्छ भन्ने आवाज उठाउँदै आएका सामाजिक अभियन्ताहरूले सामाजिक सन्जालमा अभियान नै चलाएका थिए ।

दमाईलाई स्वागत तथा अभिनन्दन गरिसकेपछि कोटीहोम महायज्ञका मुख्य प्रवक्ता राजानन्द माण्डव्यले आफूले पाप पखाल्ने अवशर पाएको बताएका छन् । उनले जन्मले जेसुकै भएपनि कर्मले ब्राह्मणत्व प्राप्त गरिसकेकाले दमाईलाई ब्यासमा आसीन भएको देख्दा समाजमा सकारात्मक सन्देश गएको बताए । 

उनी भन्छन्, ‘मैले सत्कर्म गरे भन्ने लाग्छ, म ब्राह्मणको छोरो भएपनि धर्ममा संस्कारमा जातले ब्राह्मण हुन्छ भनेको छैन, समाजले बनाएको कुरीतिलाई निर्मुल पार्नुपर्छ ।’ संस्कृतमा आचार्य गरेपनि कृष्ण दमाईलाई सोचेजस्तो सफलता मिलेको थिएन । शास्त्रले फरक नदेखेपनि यो समाजको आँखाले उनलाई फरक नै देख्थ्यो । 

आचार्य विश्वकर्माको पनि सामाजिक अनुभूति आचार्य दमाईको जस्तै छ । शास्त्रभन्दा पनि समाजले जातीय वर्गीकरण र विभेद गरेको उनको बुझाई छ । शास्त्र पढ्दै नपढी विभेदको कुरा गरेर मान्छे मान्छेबीच समाजले दूरी बनाइदिएको भन्दै सोच परिवर्तन गर्न जरुरि रहेको उनले बताए । 

उनी भन्छन्, ‘मैले पढे ज्ञान लिए, त्यो विभेद शास्त्रले गरेको रहेनछ भन्ने मैले बुझेको छ, कुनैपनि धर्ममा जातीय, सांस्कृतिक विभेद छैन, समाजले गरेको भेदभावलाई धर्मसँग जोडिएको भएर धर्ममाथि प्रहार भएको हो ।’

संस्कृत भाषाको अध्ययन गरिसकेपछि आफूले समाजलाई अझ नजिकबाट चिन्न सकेको उनको बुझाई छ । समाजले जातीय रूपमा जति भेदभाव गरेपनि शास्त्रले सधै कर्मलाई पुज्न सिकाएको उनले बताए । ‘मलाई समाजले दलित बनाएपनि कोटीहोम महायज्ञको व्यासमा म ज्ञानले आसीन हुन पाएको  हो’, उनी भन्छन्, ‘ज्ञान भन्दा ठूलो केही छैन ।’

हिन्दुधर्म र यसले अंगालेको जातीय व्यवस्था नै शास्त्रसम्मत नभएको भन्दै अब सोच र समाज बदल्नुपर्ने बेला भएको धार्मिक अभियन्ताहरूको सुझाव छ । कोटीहोमका मुख्य प्रवक्ता माण्डव्य जातीय विभेद निर्मूल बनाउँन अभियान नै चलाउनुपर्ने बताउँछन् । वैदिक ज्ञान लिन ब्राम्हणको कूलमा जन्म लिनुपर्छ भने भाष्यलाई गलत सावित गर्नुपर्ने बेला भएको उनको भनाइ छ । 

कोटीहोम महायज्ञमा वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल, सु–प्रसिद्ध कथा वाचिका राधिका दासी माता, देवी प्रतिभा, राम कथावाचिका चन्द्रकला सखी र श्रीमद देवी भागवत वाचिका विदुषी डा.कान्ता भट्टराइलगायतले कथा वाचन गरिरहेको व्यासमा दलित समुदायको प्रतिनिधित्व गरेर आचार्य कृष्ण दमाई र लेखबहादुर विश्वकर्माको सहभागिता धार्मिक क्रान्तिको एक ज्वलन्त उदाहरण बनेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise