२०८२ कार्तिक ८ गते शनिवार / Oct 25 , 2025 , Saturday
२०८२ कार्तिक ८ गते शनिवार
Ads

जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगर्नु दुर्भाग्यपूर्ण : प्रभु साह 

shivam cement
मध्यान्ह
२०८२ कार्तिक ८ गते १८:१३
जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीलाई कारबाही नगर्नु दुर्भाग्यपूर्ण : प्रभु साह 

वीरगञ्ज : आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले गृहमन्त्री ओमप्रकाश अर्यालको भूमिका शंकास्पद र विवादस्पद भएको भन्दै तत्काल राजीनामा मागेका छन् । 

जेन–जी आन्दोलनमा युवाहरूको बलिदानीको जगमा बनेको सरकारले अहिलेसम्म युवाहरुलाई छाती र टाउकोमा ताकि–ताकि गोली हान्ने हत्याराहरू , भ्रष्टाचारी र षड्यन्त्रकारीलाई पक्राउ गर्न नसकेको भन्दै साहले गृहमन्त्री अर्यालको राजीनामा मागेका हुन् । गृहमन्त्री अर्यालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकसहितका हत्याराहरूलाई पक्राउ गरी कानूनी कारबाहीमा ल्याउनको लागि कुनै पहलकदमी नलिएको साहको आक्रोश छ ।

आज (शनिबार) पर्साको पर्सागढीमा दिपावली, छठ पर्वको अवसरमा आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘भदौ २३ गते युवाहरुमाथि नरसंहार गरियो, ती युवाको छाती र टाउकोमा ताकि ताकि गोली हानिएको छ, अहिलेसम्म हत्याराहरूलाई पक्राउ गर्न नसक्ने यो सरकारको अब काम छैन्, गृहमन्त्री नै लुरे परे ।’ कुनैबेला एमालेको झोले कार्यकर्ता भएकै कारण अहिलेका गृहमन्त्रीले केपी ओलीजस्ता राक्षसी प्रवृत्ति भएको र युवाहरुको हत्या गर्नेलाई अहिलेसम्म कानूनी कारबाही गर्न नसकेको उनको आरोप छ ।

आजपा अध्यक्ष साहले भने,‘यो सरकार बनेको आज यतिका दिन बितिसक्यो, तर युवाहरुको हत्यारालाई कारबाही गर्न सकेको छैन्, उल्टै हत्याराहरुको बलमा प्रहरी प्रशासनले आन्दोलनकारी युवाहरुमाथि छानि-छानि जाहेरी दर्ता गरिएको छ, बालेन शाह र सुदन गुरुङविरुद्धको एमालेका युवाहरुले दिएको जाहेरी किन दर्ता गरियो ? यो सरकारको गतिविधि आँफैमा शंकास्पद छ ।’ 

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालहरुले जेन–जी पुस्ताको भावनामाथि गम्भीर खेलवाड गरेको साहको आरोप छ । जेनजी युवाका हत्यारा, भ्रष्टाचारी र षड्यन्त्रकारीहरूलाई सरकारले एउटै तराजुमा राखेर कारबाही नगरी मुद्दा मुतलबीमा राख्नु दुर्भाग्यपूर्ण भएको साहले बताए । 

जेन–जीहरूको आन्दोलन नै अहिलेको सरकारमा भएकाहरुले सुनियोजित तवरले अपहरण गरेको भन्दै अब यिनीहरुलाई कुर्सीमा बस्ने नैतिकतासमेत नभएको उनको दाबी छ । अहिलेको सरकार युवाहरुको हत्यामा प्रत्यक्ष संलग्न भएकाहरूको सेवामा खटिएको भन्दै युवाहरूको हत्यारालाई कारबाही नगरे जनता आँफैले अब कारबाही थाल्ने पनि उनले चेतावनी दिए । 

उनले यो सरकारको हुति र नैतिक बल नदेखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दिनदिनै दुत्कार्ने काम गरेको र बेला बेलामा टाउको उठाउन खोजेको आरोप लगाए । कारबाहीको दायरामा आउनुपर्नेहरूले नै यो सरकारलाई टेर्दिनँ र चुनावमा पनि भाग लिन्नँ भनेर दिनदिनै चूनौती दिनुले पनि यो सरकार कति शक्तिशाली छ भनेर प्रष्ट हुने उनको टिप्पणी छ ।
 
आम नेपाली जनता चुनावको व्यग्र प्रतिक्षामा रहेको भन्दै चुनावसँगसँगै युवाहरुको हत्यारालाई पनि तत्काल कानूनी कारबाहीको दायरामा ल्याईनुपर्ने पक्षमा रहेको भन्दै सरकारलाई खुट्टा नकमाउन साहको सुझाव छ । 

आजपा अध्यक्ष साहले भने,‘यो सरकार चुनावी सरकार हो, तर यसो भन्दैमा चुनाव गर्नुमात्रै यसको उद्देश्य कदापि होईन, मुलुकमा सरकार भएको आभाष दिनको लागि पनि दिनको उज्यालोमा खुलेआम ओली सरकारले युवाहरुको हत्या गरेको छ, उनीहरूलाई कारबाही गर्नु यो सरकारको प्रथम दायित्व हो ।’ अहिलेको सरकारले युवाहरूको हत्यारालाई कारबाही नगरे जनताले आफ्नै बलमा हत्याराहरूलाई घरबाट थुतेर जनकारबाही गर्ने पनि उनको चेतावनी छ ।

पर्साबाट नेताहरू बिगतमा मन्त्री भएपनी जिल्लाको बिकासमा काम नगर्दा आम नागरिकले दुख ब्यहोर्नु परेको यथार्थ बिषय उल्लेख गरे ।

वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्ने, नारायणी हस्पिटललाई मेडिकल कलेज बनाउनुपर्ने, ठाकुरराम बहुमुखी क्याम्पसलाई बिश्व विद्यालय बनाउनुपर्ने, नारायणी रंगशालालाई विश्व स्तरीय बनाउनुपर्ने भएपनी ती मन्त्रीले ध्यान नदिदा आजपाले गरेको आन्दोलन समेत उनले स्मरण गरेका छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise