२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

वैदेशिक रोजगार व्यवसायीहरूको पेसागत छाता संघ ३४औं वर्षमा

Nada
२०८३ असार १७ गते ०६:१५
Shares
वैदेशिक रोजगार व्यवसायीहरूको पेसागत छाता संघ ३४औं वर्षमा

काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बुधबार आफ्नो ३४औं स्थापना दिवस मनाउँदै छ । वैदेशिक रोजगार व्यवसायी तथा वैदेशिक रोजगारमा जाने कामदारहरूको अधिकारका पक्षमा सशक्त आवाज उठाई व्यवसाय र कामदारको अधिकार सुरक्षित गर्ने उद्देश्यले २०४९ साल असार १७ गते संघ स्थापना भएको थियो ।

ncell

संघले व्यावसायिक हकहितका अतिरिक्त सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विभिन्न कार्यहरू गर्दै आएको छ । गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनाइएका गौशाला र नयाँ बसपार्कका प्रहरी चौकी निर्माण गरेको संघले यस वर्षको स्थापना दिवसका अवसरमा ललितपुरको सानेपास्थित सी आशा फाउन्डेसनअन्तर्गत सञ्चालित आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्रमा आश्रित बालबालिका तथा लाभग्राहीहरूको हितका लागि खेलकुद सामग्री, वाद्ययन्त्र, स्टेसनरी र खाद्यान्न सहयोग प्रदान गर्ने कार्यक्रम आयोजना गरेको छ ।

संघका महासचिव हिराबहादुर डागी (हरि)ले ‘सेवामै समर्पण, सहयोगमै सन्तुष्टि र सामाजिक उत्तरदायित्व नै हाम्रो प्रतिबद्धता’ भन्ने भावनाका साथ उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

३३औं स्थापना दिवसका अवसरमा संघले बाजुराको आगलागीबाट पीडितलाई १ लाख ७६ हजार रुपैयाँ तथा कीर्तिपुरको भत्केपाटीस्थित चिल्ड्रेन अफ द स्ट्रिट नामक गैरसरकारी संस्थामा आश्रित बालबालिकालाई खाद्यान्न, स्टेसनरी र स्यानिटरी प्याड वितरण गरेको थियो ।

संघ स्थापना भएको तीन दशक पूरा भए पनि व्यवस्थापकीय रूपमा चुस्त हुन अझै बाँकी रहेको कतिपय व्यवसायीको टिप्पणी छ । स्थापना भएको ३२ वर्षपछि मात्रै संघ काठमाडौंको सिफलमा भवन खरिद गरी औपचारिक रूपमा आफ्नै कार्यालयमा सरेको हो ।

संघमा हाल १ हजार ४१ म्यानपावर व्यवसायी सदस्य रहेका छन् । वैदेशिक रोजगार क्षेत्रका विसंगति र अस्वस्थ प्रतिस्पर्धाविरुद्ध लड्नका लागि सदस्यहरूका लागि आचारसंहिता पनि तयार पारेको संघले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको अधिकारको रक्षा गर्न श्रम सम्झौता र श्रम समझदारीमा जोड दिँदै आएको छ ।

सम्बन्धित खबर