
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो ३४औं स्थापना दिवस मनाएको छ ।
स्थापना दिवसका अवसरमा संघले बुधबार ललितपुरको सानेपास्थित आशा विशेष पाठशाला तथा पूनर्थापना केन्द्रमा आश्रित अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई खाद्यान्न, शैक्षिक सामग्री र वाद्यवादन सामग्री वितरण गरेको छ ।

खाद्यान्न तथा स्टेशनरी हस्तान्तरण गर्दै संघका अध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ले निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए । उनले पुण्य कार्यको अवसर प्रदान गरेकोमा सी आशा फाउन्डेसनप्रति धन्यवाद व्यक्त गरे ।
संघकी कोषाध्यक्ष तथा सिएसआर संयोजक धनु सिन्जालीले संघले व्यावसायिक हकहितका अतिरिक्त सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै विभिन्न कार्य गर्दै आएको जानकारी दिइन् ।

उक्त केन्द्रकी सञ्चालिका रूपा कार्कीले १३ वर्षअघिदेखि अटिजम तथा बौद्धिक अपाङ्गता भएका बालबालिकाले अपहेलना व्यहोर्नुपरेको अवस्थामा निजी क्षेत्रको सहयोगमा उनीहरूलाई संरक्षण र शिक्षा प्रदान गर्दै आएको बताइन् । हाल उक्त केन्द्रमा ४१ जना बालबालिका रहेका छन् । बागमती प्रदेशको हेटौंडामा पनि यस्तै केन्द्र सञ्चालनमा रहेको जानकारी दिँदै उनले सन् २०३० सम्म प्रत्येक प्रदेशमा यस्तै केन्द्र स्थापना गरी बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने बताइन् ।
त्यस अवसरमा संघका पूर्वअध्यक्ष राजेन्द्र भण्डारी, प्रथम उपाध्यक्ष महेश बस्नेत, द्वितीय उपाध्यक्ष अनिल बोगटी, तृतीय उपाध्यक्ष लक्ष्मण पौडेल, महासचिव हरि डाँगी, कोषाध्यक्ष सिन्जाली तथा कार्यसमिति सदस्यहरू रमा खड्का, तारा तामाङ, तारामणि राई, ध्रुव जिसी, भावना गजुरेल, रविन्द्र राई, गीता राउतलगायतको सहभागिता रहेको थियो ।

साथै, संघले स्थापना दिवसकै अवसरमा वैदेशिक रोजगार विभागलाई वाटर डिस्पेन्सर पनि हस्तान्तरण गरेको छ ।
विभागको ताहाचलस्थित प्राङ्गणमा आयोजित वाटर डिस्पेन्सर हस्तान्तरण कार्यक्रममा पनि अध्यक्ष खत्री, पूर्वअध्यक्ष भण्डारी, द्वितीय उपाध्यक्ष बोगटी, तृतीय उपाध्यक्ष पौडेललगायत कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।

संघले आफ्नो क्षमताअनुसार सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आएको जनाएको छ । संघले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका गौशाला र नयाँ बसपार्कस्थित प्रहरी चौकी निर्माण गरेको थियो ।
कार्यक्रम सञ्चालन गरेका संघका महासचिव डाँगीले ‘सेवामै समर्पण, सहयोगमै सन्तुष्टि र सामाजिक उत्तरदायित्वमै हाम्रो प्रतिबद्धता’ भन्ने भावनाका साथ उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायी तथा वैदेशिक रोजगारमा जाने कामदारको अधिकारका पक्षमा सशक्त आवाज उठाई व्यवसाय र कामदारको अधिकार सुरक्षित गर्ने उद्देश्यले २०४९ साल असार १७ गते संघ स्थापना भएको थियो ।