
काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत ५ जना नेपाली युवाहरूले ३० मिलियन दिराम करिब १ अर्ब २३ करोडको चिट्ठा प्राप्त गरेका छन् ।
दि युएई लट्रीमार्फत चिट्ठा प्राप्त गर्नेमा गोरखाका तैयव खान, पाल्पाका सन्दीप बि.क., नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने छन् ।
उनीहरूले बिहीबार अबुधाबीस्थित नेपाली दूतावसमा राजदूत तेजबहादुर क्षेत्रीसँग सामूहिक भेट गरे । युएईमा नेपाली कामदारले पटकपटक चिट्ठाबाट ठुलो रकम जित्दै आएका छन् ।
उनीहरूले चिट्ठामार्फत प्राप्त गरेको रकमलाई वैधानिक रूपमा नेपाल पठाउन र सो रकमलाई नेपालमा लगानी गर्न आफूहरू इच्छुक भएको बताएका छन् । उनीहरूले उक्त रकमलाई वैधानिक रूपमा नेपाल भित्र्याउन दूतावासमार्फत गर्नुपर्ने आवश्यक सहयोगका लागि नेपाल सरकारद्वारा सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
राजदूत क्षेत्रीले उनीहरूलाई लगानीका विभिन्न सम्भाव्यताको अध्ययन गरी नेपालको विकास र समृद्धिका क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन् ।
भेटमा प्रभु बैंकका युएई प्रतिनिधि प्रकाश पौडेल, पत्रकार उमाकान्त पाण्डे, नेपाल बैदेशिक रोजगार व्यवसायी संघका सचिव तथा उद्योग वाणिज्य महासंघका सचिव केदारनाथ अधिकारीसमेत सहभागी थिए ।