२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

१०० दिनमा वैदेशिक रोजगार क्षेत्रमा बालेन सरकारले के–के गर्‍यो ?

Nada
२०८३ असार २१ गते ०६:२०
Shares
१०० दिनमा वैदेशिक रोजगार क्षेत्रमा बालेन सरकारले के–के गर्‍यो ?

काठमाडौं : सरकारले सय दिनको अवधिमा वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन उल्लेखनीय सुधारका काम भएको जनाएको छ ।

ncell

सरकारका सय दिनका उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले २०७२ सालदेखि विवादमा रहेको ‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी नीतिगत निर्णयलाई समसामयिक रूपमा पुनरावलोकन गर्न कार्यदल गठन गरिएको र उक्त कार्यदलले अध्ययन गरिरहेको बताए ।

साथै, ‘वैदेशिक रोजगारी प्रणाली डिजिटाइजेसन’ सम्बन्धी अध्ययन सम्पन्न भई वैदेशिक रोजगारको सम्पूर्ण आप्रवासन चक्रलाई समेट्ने गरी एकीकृत डिजिटल प्रणाली निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

उनले वैदेशिक रोजगारीसँग सम्बन्धित व्यक्तिगत तथा संस्थागत ठगीका १ हजार ४ वटा उजुरी फर्छ्योट गर्दै पीडित नागरिकलाई ३० करोड ७४ लाख २० हजार रुपैयाँ क्षतिपूर्ति असुलउपर गरिएको जानकारी दिए । उनका अनुसार सरकार गठन हुनुअघिको ९ महिनामा वैदेशिक रोजगार पीडितलाई १२ करोड ६७ लाख रुपैयाँ बराबर क्षतिपूर्ति भराइएकोमा सरकार गठनपछिको सय दिनमै ३० करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ति भराइएको छ । मासिक औसतका आधारमा हेर्दा क्षतिपूर्ति भराउने दर करिब ६२८ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो तीन महिनाको अवधिमा मुद्दा फर्छ्योट दर २४१ प्रतिशतले र वैदेशिक रोजगार पीडितले क्षतिपूर्ति प्राप्त गर्ने दर ६७३ प्रतिशतले वृद्धि भएको उनले बताए ।

२०५७ सालदेखिका वैदेशिक रोजगारसँग सम्बन्धित ११ हजार ५ सय २८ वटा मुद्दा तथा उजुरीका फाइल डिजिटाइज गरिसकिएको उल्लेख गर्दै मन्त्री पोखरेलले वैदेशिक रोजगारसम्बन्धी मुद्दा, अनुसन्धान र क्षतिपूर्तिसम्बन्धी सेवालाई डिजिटाइज गरी सेवा ट्र्याकिङ गर्न सफ्टवेयर तयार भई परीक्षण भइरहेको जानकारी दिए ।

वैदेशिक रोजगार ऐन संशोधनका लागि सर्वसाधारणको सुझाव संकलन गर्न वेबसाइटमा राखिएको जानकारी दिँदै मन्त्री पोखरेलले श्रमिकलाई पारदर्शी र सहज सेवा उपलब्ध गराउन प्रविधि र स्थानीयकरणमा ध्यान दिई एकै दिनमा श्रम स्वीकृतिसम्बन्धी सम्पूर्ण सेवा स्थानीय तहमा रहेका रोजगार संयोजकमार्फत उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए । साथै, वैदेशिक रोजगारीमा जाने व्यक्तिको स्वास्थ्य परीक्षणका लागि डिजिटल वेब पोर्टल तयार भई परीक्षणमा रहेको जानकारी पनि दिए ।

वैदेशिक रोजगारीमा हुने श्रमिक ठगी न्यूनीकरण गर्न श्रम मन्त्रालयमा एक्सन कमान्ड सेन्टर स्थापना गरी १ हजार ६ सय ६३ वटा गुनासो सम्बोधन गरिएको उल्लेख गर्दै उनले ‘अपरेसन इलिगल एजेन्ट क्लिनअप’ पोर्टल तथा सोसम्बन्धी अभियान सुरु गरिएको बताए । साथै, श्रमाधान कल सेन्टरमार्फत ५ हजार ३ सय ९१ वटा गुनासो समाधान गरिएको र अन्तर्राष्ट्रिय विमानस्थलमा २४सै घण्टा श्रम सहायता कक्षको व्यवस्था गरिएको प्रवक्ता पोखरेलले जानकारी दिए ।

उनले श्रम कूटनीतिलाई केन्द्रमा राखेर ११ वटा देशका मन्त्री तथा राजदूतसँग छलफल गरिएको तथा आठ वटा प्रमुख गन्तव्य मुलुकसँग नयाँ श्रम सम्झौता र नवीकरणको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

सम्बन्धित खबर