२०८३ असोज २० गते मङ्गलवार / Oct 06 , 2026 , Tuesday
२०८३ असोज २० गते मङ्गलवार

भन्सार छलीका सामान बरामद, लागुऔषध कारोबारी र हेल्थकेयर सञ्चालक पक्राउ

Nada
सत्येन्द्र प्रताप सिंह
२०८३ असार २१ गते २१:१८
Shares
भन्सार छलीका सामान बरामद, लागुऔषध कारोबारी र हेल्थकेयर सञ्चालक पक्राउ

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी एकाइहरूले जिल्लाका विभिन्न स्थानमा आफ्नो सक्रियता बढाउँदै भंन्सार छलीका सामान, मोटरसाइकल, लागुऔषधसहित कारोबारीहरूलाई नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण गर्ने क्रममा सीमावर्ती क्षेत्रबाट सामान बरामद गर्नुका साथै लागुऔषधको अन्तर–जिल्ला नेटवर्कमाथि समेत ठुलो प्रहार गरेको छ ।

ncell

शनिबार बिहान अन्दाजी ९ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतको प्रहरी चौकी मठिया महुलियाबाट खटिएको संयुक्त चेकिङ टोलीले अवैध भन्सार छलीका सामान बरामद गरेको छ ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नं. ४ स्थित सानो लतमरी इलाकामा भारतबाट अवैध रूपमा भन्सार छली, चोरी–पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले खानतलासी गरेको थियो। सो क्रममा अन्दाजी ३५ हजार ८ सय रुपैयाँ बराबरको माउन्टेन डिउ, स्प्राइट र सर्गम सरफ लगायतका सामग्रीहरू नियन्त्रणमा लिइएको छ । साथै आवश्यक कागजपत्र नभएका र सामान ओसारपसारमा प्रयोग गरिएका ३ वटा मोटरसाइकल समेत प्रहरीले जफत गरेको छ । जफत गरिएका मोटरसाइकलहरू भारतीय नम्बर प्लेट बिआर ३० डी ८९३५, बिआर ०६ सिए ७११६ तथा नम्बर नखुलेको एक थान ग्लेमर मोटरसाइकल रहेका छन् । 

नियन्त्रणमा लिइएका तीनवटै मोटरसाइकलको अनुमानित बजार मूल्य १ लाख २० हजार रुपैयाँ रहेको प्रहरीले जनाए । बरामद गरिएका सामग्री र मोटरसाइकलमाथि थप कानुनी अनुसन्धान भइरहेको छ ।

यसैगरी असार २० गतेकै राति अन्दाजी १०:२५ बजेको समयमा बौधीमाई नगरपालिका वडा नं. ७ बंकुलस्थित सडक खण्डमा नियमित गस्तीमा रहेको प्रहरी टोलीले एक जना भारतीय नागरिकलाई लागुऔषधसहित रंगेहात पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी बंकुलको संयुक्त गस्ती टोलीले शंका लागेर चेकजाँच गर्दा निजको साथमा रहेको नाइलनको झोला र पाइन्टको खल्तीबाट लागुऔषध फेला पारेको हो । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मोतिहारी  संग्रामपुर थाना अन्तर्गत ग्राम पंञ्चायत वडा नं. ११ नररुलाह भटवलिया बस्ने २५ वर्षीय रामप्रवेश महतो रहेका छन् । 

महतोबाट बरामद लागुऔषध

खैरो हेरोइन महतोको पाइन्टको पछाडिको खल्तीबाट प्लास्टिकसहित तौल गर्दा ८.२२ ग्राम प्लास्टिक हटाएर ७.२३ ग्राम बरामद गरिएको छ भने नाइलनको झोलाभित्र लुकाएर राखिएको अवस्थामा प्लास्टिकसहित १ किलो ६६० ग्राम प्लास्टिक हटाएर १ किलो ६५० ग्राम बरामद गरिएको छ । 

पक्राउ परेका महतोमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत हिरासतमा राखी थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरीले जनाए ।

विगत केही दिनदेखि रौतहट प्रहरीले गरिरहेको सूक्ष्म र विशेष अनुसन्धानका क्रममा सर्लाहीमा संचालित एक हेल्थकेयरबाटै प्रतिबन्धित औषधिको अवैध कारोबार हुने गरेको सनसनीपूर्ण खुलासा भएको छ ।

घटनाको पृष्ठभूमि अनुसार, गएको जेठ ३१ गते चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र प्रहरी चौकी पौराहीको टोलीले शंकास्पद अवस्थामा रहेका २१ वर्षीय श्याम किशोर सहनी र ४२ वर्षीय शंकर बहादुर पुलामीलाई ४३ पिस लागुऔषध जस्तो देखिने सेतो÷पहेंलो खुला ट्याब्लेटसहित नियन्त्रणमा लिएको थियो । 

अनुसन्धानकै क्रममा असार २० गते दिउँसो ३ बजे पक्राउ परेका श्याम किशोर सहनीले आफूहरूले उक्त प्रतिबन्धित औषधि सर्लाहीको बागमती नगरपालिका वडा नं. ११ पुतलीचोकमा रहेको सभ्यता हेल्थकेयर हस्पिटल प्रा.लि. बाट खरिद गरेको बयान दिएका थिए ।

सोही बयानका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको विशेष टोलीले इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीसँग आवश्यक समन्वय गरी उक्त हेल्थकेयरमा छापा मारेको थियो । सो क्रममा ट्रमाडोल  ६ पत्तामा जम्मा ५४ पिस,टेन्टाडोल १ पत्तामा ३ पिस, ३ पत्तामा ३० पिस, ट्रमाडोल र टेन्टाडोल ट्याब्लेट निकालिएका थुप्रै खाली पत्ताहरू समेत फेला परेका छन् । 

अवैध रूपमा प्रतिबन्धित औषधि बेचेर लागुऔषध ओसारपसारमा संलग्न रहेको आरोपमा हेल्थकेयर सञ्चालक ३० वर्षीय प्रज्वल आलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १२ निवासी लिल बहादुर आलेका छोरा प्रज्वललाई रौतहटको चन्द्रनिगाहपुर ल्याई प्रारम्भिक सोधपुछ गरिएको थियो । 

आलेलाई सोही राति ८ बजे थप अनुसन्धान र आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय हरिवन, सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बसन्त गौतमले बताए ।

सम्बन्धित खबर