कुलेन्द्र शाही/मध्यान्ह
सुर्खेत : कर्णाली प्रदेशकी सभामुख नन्दा गुरुङले नेकपा एमालेसँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।
सभामुख गुरुङले बुधबार प्रेश विज्ञप्ति निकालेर स्वतन्त्र र निष्पक्ष काम गर्न पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी हुन् । उनी नेकपा एमालेको प्रदेशसभा कमिटी सदस्य, अखिल नेपाल जिल्ला संघको अध्यक्ष र केन्द्रीय सदस्य रहेकी थिइन् ।
उनले भनिन्, ‘मिति २०७९ साल माघ १ गते प्रदेशसभाको सभामुख पदमा निर्वाचित भएको र यस पदको भूमिकालाई स्वतन्त्र र निष्पक्षरूपमा निर्वाह गर्नका लागि एमालेको पार्टी सदस्यता र पार्टीसम्बद्ध सम्पूर्ण राजनीतिक, सांगठनिक जिम्मेवारीबाट अलग भएको जानकारी गराउँदछु ।’
माघ एक गते आइतबार भएको निर्वाचनमा गुरुङ २४ मतसहित सभामुखमा निर्वाचित भएकी थिइन् । प्रदेशसभामा रहेका ४० सांसदमध्ये २४ सांसदले गुरुङलाई मत दिएका हुन् । उनलाई सत्ता गठबन्धनमा रहेका एमालेका १०, माओवादीका १३ र राप्रपाका एक जना सांसदले मत दिएका हुन् ।
यस्तै कांग्रेसको तर्फबाट सभामुखको उम्मेदवार बनेका खड्गबहादुर पोखरेलले भने १४ मत मात्र प्राप्त गरेका थिए । आइतबारको मतदानमा प्रदेशसभाका ४० मध्ये ३८ जना सांसद सहभागी थिए । दुई जना सांसद भने मतदानमा सहभागी भएका थिएनन् । प्रदेशसभामा रहेका स्वतन्त्र सांसद देवेन्द्रबहादुर शाही भने तटस्थ बसेका थिए । प्रदेशसभा बैठकको अध्यक्षता गरेका कारण कांग्रेस सांसद हिक्मतबहादुर विष्ट मत विभाजनमा सहभागी भएका थिएनन् ।
यस्तै यसअघि मुख्यमन्त्रीको नियुक्तिमा सत्ता गठबन्धनलाई समर्थन गरेकी एकीकृत समाजवादीकी सांसद कल्याणी खड्काले भने सभामुखको निर्वाचनमा कांग्रेस उम्मेदवारको पक्षमा मत दिएकी थिइन् । सभामुख चयनका लागि शनिबार मनोनयन दर्ता भएको थियो । सभामुखमा विजयी भएकी गुरुङ एमालेको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित भएकी थिइन् । उनलाई माघ एक गते नै प्रदेश प्रमुख तिलक परियारले एक कार्यक्रमका बीच शपथ ग्रहण गराएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies