
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिद्वारा आयोजित एकता, समायोजन तथा प्रशिक्षण कार्यक्रम आज पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) तथा सहसंयोजक माधवकुमार नेपालको विशेष उपस्थितिमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव तथा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान सचिव कुन्छा दोर्जे डिम्दोङ नेपाली कम्युनिस्ट पार्टीको उपत्यका प्रदेश समिति सदस्यमा मनोनीत भएका छन् ।
डिम्दोङ हाल नेपाली कम्युनिस्ट पार्टी उद्यमी–व्यवसायी महाशाखाका उपाध्यक्ष, श्रम तथा रोजगार विभाग सचिवालय सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय सदस्यसमेत हुन् ।
यस अवसरमा नेपाली कम्युनिस्ट पार्टी वैदेशिक रोजगार शाखा समितिका अध्यक्ष सोमबहादुर तामाङ (लो)ले डिम्दोङको उपत्यका प्रदेश समितिमा भएको मनोनयनले वैदेशिक रोजगार क्षेत्रका समस्या, चुनौती तथा सुधारका आवश्यक विषयहरूलाई पार्टीको नीतिगत तहमा प्रभावकारी रूपमा उठाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष तामाङका अनुसार केही दिनअघि वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सहइन्चार्ज समिता कार्कीसहितको टोलीले पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्डसँग भेटघाट गरेको थियो ।
उक्त भेटमा हाल नेपाल सरकारले वैदेशिक रोजगार ऐन संशोधनको प्रक्रिया अघि बढाइरहेको सन्दर्भमा प्रतिपक्षको भूमिकामा रहेको पार्टीले वैदेशिक रोजगारीमा जाने श्रमिक तथा यस क्षेत्रमा कार्यरत व्यवसायीहरूले भोगिरहेका नीतिगत समस्या, विशेषगरी ‘फ्री भिसा–फ्री टिकट’ लगायतका विषयलाई संसदमा सशक्त रूपमा उठाइदिन आग्रह गरिएको उनले जानकारी दिए ।
वैदेशिक रोजगार क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएका प्रतिनिधिको उपत्यका प्रदेश समितिमा सहभागिताले श्रमिक तथा व्यवसायी दुवै पक्षका साझा सरोकारलाई पार्टीको नीति निर्माण र राजनीतिक बहसमा प्रभावकारी ढंगले स्थापित गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।