
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति बैठकले संघको विधानबमोजिम सल्लाहकार, कानुनी सल्लाहकार तथा मनोनीत सदस्य चयनसँगै वैदेशिक रोजगार ऐन संशोधनका विषयमा सरकारलाई संस्थागत सुझाव दिने निर्णय गरेको छ ।
बैठकले संघका पूर्वअध्यक्ष तथा अरोरा ह्युमन रिसोर्सेसका सञ्चालक राजेन्द्र भण्डारीलाई संघको सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । साथै, पूर्व सल्लाहकार तथा प्याराडाइज इन्टरनेसनलका सञ्चालक नवराज केसी, द रिभर ओभरसिजका सञ्चालक रघुनाथ पुरी तथा कान्तिपुर मेनपावरका सञ्चालक धनलाल जैसीलाई पनि सल्लाहकारमा नियुक्त गरिएको संघले जनाएको छ ।
संघले यसअघि वरिष्ठ अधिवक्ता शम्भु प्रसाद निरौला र वरिष्ठ अधिवक्ता देवराज कटुवाललाई कानुनी सल्लाहकार नियुक्त गरिसकेकोमा थप अधिवक्ता मधुकर रिजाललाई पनि कानुनी सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको छ ।
त्यसैगरी, विधानबमोजिम मनोनीत हुने चार सदस्य पदमा देवीप्रसाद गिरी, राजेन्द्र बस्नेत, शिवहरि मैनाली र श्यामचन्द्र खतिवडालाई मनोनयन गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा युवा तथा रोजगार मन्त्रालयले संशोधनको तयारी गरिरहेको वैदेशिक रोजगार ऐनका विषयमा पनि विस्तृत छलफल भएको थियो । छलफलका क्रममा वैदेशिक रोजगारीमा जाने श्रमिकको लागत निर्धारण, श्रमिकको जिम्मेवारी तथा दायित्व स्पष्ट पार्ने, विद्यमान नीतिगत तथा कार्यान्वयनगत जटिलताको समाधान गर्ने लगायतका दर्जनौँ विषयमा संशोधन आवश्यक रहेको निष्कर्ष निकालिएको संघले जनाएको छ ।
सोहीअनुसार संघले विस्तृत संस्थागत राय तथा लिखित सुझाव तयार गरी मन्त्रालयमा पेस गर्ने निर्णय गरेको छ ।
संघका महासचिव हिरा बहादुर डाँगी (हरी)ले वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, सुरक्षित, पारदर्शी र मर्यादित बनाउन नीतिगत सुधार अपरिहार्य रहेको बताए । उनले राज्यले नीति सुधारको जिम्मेवारी लिए व्यवसायिक क्षेत्रलाई सुधार्ने जिम्मेवारी संघले लिने बताए ।
संघले वैदेशिक रोजगार क्षेत्रका समसामयिक चुनौतीहरूको समाधान, श्रमिकको हित संरक्षण, व्यवसायको संस्थागत विकास तथा सुशासन प्रवर्धनका लागि सरकारसँग रचनात्मक सहकार्य गर्दै आवश्यक नीतिगत सुधारका विषयमा निरन्तर पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।