
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको विधान सार्वजनिक भएको छ । जसले पार्टी संसदीय दलको नेतालाई पार्टी सभापतिले कमान्ड गर्ने प्रावधान छ ।
रास्वपामा वरिष्ठ नेता वालेन्द्र शाह बालेन संसदीय दलको नेता छन् । संसदीय दलको नेताको हैसियतमा बालेनले प्रधानमन्त्री भएर मुलुकको नेतृत्व गरिरहेका छन् ।
सत्तारुढ रास्वपाको पार्टी सभापतिमा भने रवि लामिछाने छन् । यस्तो अवस्थामा संसदीय दलको नेतालाई पार्टी सभापतिले कमान्ड गर्ने गरी रास्वपाले आफ्नो विधान बनाएको हो ।
संसदीय दलको नेतालाई पदमुक्त गर्न सकिने विधानको व्यवस्थामा भनिएको छ, ‘यस विधानको ११(क)को ३ अनुुसार पार्टी सभापतिले दिएको नीतिगत मार्गनिर्देशन पालना नगरेमा ।’ विधानको ११ (क)को ३ संसदीय दललाई सभापतिले नीतिगत मार्गनिर्देशन दिने व्यवस्था पनि छ ।
विधानको यो व्यवस्थाअनुसार सभापतिले दिएका निर्देशन संसदीय दलका नेता रहेका प्रधानमन्त्री बालेनसहित सबै रास्वपा सांसदले पालना गर्नुपर्दछ । सभापतिले दिएको निर्देशन पालना नगरे पदमुक्त गर्नसक्ने व्यवस्था विधानमा छ ।
१५१ केन्द्रीय समितिमा एकतिहाइ अर्थात् ५१ सदस्य नियुक्तिको अधिकार पनि पार्टी सभापतिलाई छ । पार्टीका कतिपय पदाधिकारी पनि सभापति नै छान्छन् । यस पृष्ठभूमिमा बनेको विधानले पनि सभापतिलाई संसदीय दलका नेतालाई कमान्डमा राख्ने वैधानिक अधिकार दिएको हो ।
रास्वपाको प्रथम महाधिवेशनले निर्वाचित हुने पदाधिकारी र केन्द्रीय सदस्यहरूको टुंगो लगाएको थियो । तर मनोनीत हुने पदहरू पूर्ति भएको छैन । रास्वपाका पदाधिकारीमध्ये उपसभापति १, महामन्त्री १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता ३ जना मनोनीत गर्न बाँकी छ । तीन उपसभापति हुने विधानको व्यवस्थाअनुसार दुईजना निर्वाचित भएका छन् । उपसभापतिमा डा.स्वर्णिम वाग्ले निर्विरोध चयन भए भने सोही पदमा सोबिता गौतम निर्वाचित भइन् । रास्वपाको विधानमा उपसभापति तीनजनामा दुईजना निर्वाचित र एकजना मनोनीत हुने व्यवस्था छ ।
अर्थात्, रास्वपाको विधानले संगठनात्मक संरचनादेखि संसदीय दलसम्म सभापतिलाई सवैतिर विशेष अधिकार दिएको छ । यससँगै संगठन सञ्चालन, नीति निर्माण, पदाधिकारी छनोट, केन्द्रीय समितिको गठन तथा संसदीय दलको सञ्चालनसम्म सबैतिर सभापति सर्वेसर्वा हुनेछन् ।