
काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार ऐन संशोधनसम्बन्धी सुझाव युवा, श्रम तथा रोजगार मन्त्रालयमा पेस गरेको छ ।
मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई समयानुकूल संशोधन गर्ने उद्देश्यले गठन गरेको समितिबाट तयार गरिएको प्रस्तावित संशोधन विधेयकको मस्यौदामा सर्वसाधारणको राय–सुझाव माग गर्दै गतहप्ता सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचनाको आधारमा संघले संघका पूर्वअध्यक्षहरू, शुभेच्छुक घटक संस्थाका प्रतिनिधिहरू, क्षेत्रीय तथा भेगीय समितिका प्रतिनिधिहरू र कार्यसमितिसँग विस्तृत छलफल गरी व्यवसायीहरूको साझा धारणा संकलन गरेर सुझाव पठाएको महासचिव हिरा बहादुर डाँगी (हरि)ले जानकारी दिए ।
संकलित राय–सुझाव मन्त्रालयका सचिवसमक्ष औपचारिक रूपमा पेस गरेको भन्दै महासचिव डाँगीले संघले व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन आवश्यक कानुनी सुधारका लागि सुझाव दिएको पनि उल्लेख गरे ।